
मीरा बस्नेत र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन १७ । फोटो पत्रकार क्लबको आयोजनामा फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरुको प्रदर्शनी काठमाडौंमा चलिरहेको छ ।
प्रदर्शनीमा नेपालका फोटो पत्रकारहरुको विभिन्न सातओटा विधामा छानिएका उत्कृष्ट तस्वीर राखिएका छन् ।
फोटो पत्रकार नभेष चित्रकारले खिचेको असामान्य टाउको भएका बजरँगी मिश्रको बिरामी अवस्थादेखि अन्त्येष्टिसम्मको फोटो स्टोरीले धेरैको ध्यान खिचेको छ ।
जुन फोटोले नेपाल फोटो प्रतियोगितामा ‘फोटो अफ द इयर’ र ‘फोटो स्टोरी’मा पहिलो पुरस्कार जितेको थियो ।
हाइड्रो–सेफालुस रोगका कारण अकालमै ज्यान गुमाएका मिश्रले जीवनको अन्तिम घडीमा आफ्नी आमालाई हात हल्लाउँदै गरेको तस्वीरले आमा फूलकुमारीको आँखा एकाएक रसाए । जुन तस्वीर हेर्नैका लागि उनी रौतहट, वरियापुरबाट अहिले काठमाडौं आएकी छन् ।
बजरँगी मिश्रको तस्वीर उनको उपचार चल्दै गर्दा पत्रकार चित्रकारले सहयोग जुटाउने उद्देश्यसहित कैद गरेका थिए ।
यस्तै, फोटो पत्रकार रोविक उपाध्यायले खिचेको भाडाका क्रियापुत्री नवराज बादलको तस्वीर र चन्द्रबहादुर आलेको दुईओटै हात नभएकी सविता थापाको जीवन संघर्ष झल्कने प्रेरणादायी तस्वीर प्रदर्शनीको अर्को आकर्षण हो ।
काठमाडौं, बबरमहलस्थित आर्ट काउन्सिलमा भइरहेको प्रदर्शनीमा ‘नेपाल स्माइल’ विधामा प्रथम भएको वसन्तपुरमा रथ तान्दै गरेको स्कुले बालबालिकाको तस्वीर पनि निकै आकर्षक छ ।
यही विधामा छानिएका हिमाली भेगका महिला तथा बालबालिकाको स्वाभाविक मुस्कानयुक्त तस्वीरले पनि धेरैको ध्यान खिचेको छ ।
नेपालको कला, धर्म, संस्कृति, परम्परा र जीवन संघर्षका जिवन्त तस्वीरका साथै मुलुकका दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी र तिनिहरुको गतिविधि तस्वीरमा अवलोकन गर्न पाइन्छ ।
विरोध प्रदर्शनका क्रममा एक महिलाले सुरक्षाकर्मीसँग गरिरहेको प्रतिवाद, बारामा आँधीले घर भत्काएपछि स्थानीय विपन्न परिवारले सामना गर्नुपरेको कष्ट र हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारीको शव खोजीका क्रममा हेलिकोप्टरबाट डोरीमा झुन्डिरहेका सैनिकको तस्वीरसमेत प्रदर्शनीमा राखिएका छन् ।
वर्षभरिका थुप्रै सामाजिक, राजनीतिक तथा धार्मिक घटनाको झल्को दिने यी तस्विर फागुन २० गतेसम्म अवलोकन गर्न पाइने छ ।
प्रतिक्रिया दिनुहोस्