
प्रकाश लम्साल/ईमेज
बारा । किर्ते गरी व्यक्तिको नाममा पु¥याएको २० विगाह सार्वजनिक जग्गा राज्यको नाममा फिर्ता आएको छ ।
औद्योगिक करिडोरअन्तर्गतको उक्त जग्गा किर्ते पुर्जा बनाएर पद्युम्नराज पाण्डेले २०३५ सालदेखि भोगचलन गर्दै आएका थिए ।
प्रद्युम्नराज पाण्डेले किर्ते पुर्जा बनाएर भोगचलन गरेको पथलैया वीरगञ्ज औद्योगिक करिडोरअन्तर्गत नितनपुरस्थित अर्बौ मूल्यको २० विगाहा सार्वजनिक जग्गा गत बिहीबारदेखि राज्यको नाममा आएको छ ।
पुस २७ गते मालपोत कार्यालय सिमराले निकालेको ३५ दिने सुचनाको आधारमा आवश्यक प्रकिया पूरा गरी बिहीबार उक्त जग्गा राज्यको नाममा घोषणा गरिएको हो ।
पाण्डेले ३५ दिने सूचना अवधिमा आफ्नो नाममा हकदावी गर्नसक्ने कुनै आधार र प्रमाण पेश नगरेकोले सो जग्गा राज्यको नाममा आएको सिमरा मालपोतका प्रमुख यादव आर्चायको भनाइ छ ।
पाण्डेले बाराको हाल जीतपुरसिमरा वडा नं २३ विभिन्न कित्ताको २० विगाह सार्वजनिक जग्गा २०३५ सालदेखि किर्ते पूर्जा बनाई भाडामा लगाउँदै आएका थिए ।
सो जग्गा पाण्डेको नाममा दर्ता गर्नुको कुनै आधार नभएको र अनुसन्धानका क्रममा किर्ते पुर्जा बनाएको भेटिएपछि मालपोत कार्यालय सिमराले सरकारी जग्गा भएको पुष्टि गरेको हो ।
फिल्डबुकमा नहर, नदी, ऐलानी, पर्ति भनी उल्लेख भएको सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएर बीचबीचमा श्रेस्ता घुसाएको अनुसन्धानको कम्रमा भेटिएको हो ।
जग्गामा अहिले चित्रगुप्त पेट्रोल पम्प, नारायणी छाला उद्योग, डावर नेपाललगायतका उद्योगसहित केही व्यक्तिले भोगचलन गरिरहेका छन् ।
अर्बौँ मूल्यको सार्वजनिक जग्गामा किर्ते गर्ने व्यक्तिविरुद्ध कारबाही हुनुपर्ने जीतपुरसीमरा–२३ का अध्यक्ष कयामुदिन अन्सारीको भनाइ छ ।
एउटै व्यक्तिका नाममा त्यति धेरै जग्गा किर्ते भएपछि अन्य ठाउँमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्