
सागर महत/ईमेज
अर्घाखाँची । अर्घाखाँची जिल्लाका करिब एक हजार ६ सय बालबालिकामा कुनै न कुनै किसिमको अपाङ्गता छन् ।
तर तीमध्ये कतिपय भने उपचार संभव हुँदाहुँदै पनि विकलांग बनेर कष्टपूर्ण जीवन बिताइरहेका छन् ।
यहि अवस्थालाई मध्यनजर गरी त्यस्ता व्यक्तिलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा गरीब तथा पिछडावर्गका अपाङ्ग बालबालिकालाई सहयोग गर्ने उद्देश्यले स्थापित अस्पताल हो ।
यसै अन्तर्गतको सक्षम परियोजना अर्घाखाँची शाखाले विभिन्न किसिमका शारीरिक अपाङ्गता भएका बालबालिकालाई उपचार गरिरहेको छ ।
यसको तथ्यांकअनुसार जिल्लामा १६ सय बालबालिकामा कुनै न कुनै किसिमको अपांगता छ ।
उक्त परियोजनाले पछिल्लो तीन वर्षको अवधिमा ३ सय ५५ जना बालबालिकाको उपचार गरिसकेको छ ।
उपचारपछि नयाँ जीवन पाएजस्तै भएको भूमिकास्थान नगरपालिका वडा नम्बर २ का खेमराज विकको भनाइ छ ।
भूमिकास्थान नगरपालिकाका खुम बहादुर विक पनि आफ्नी छोरी तातोपानीमा परेपछि हिँड्डुल गर्न नसक्ने भएकी तर अहिले उपचारपछि कुनै समस्या नरहेको बताउँछन् ।
हात खुट्टा लुलो भएको, भाँचिएको, औँला बांगो भएको र जोडिएको ढाड बाङ्गो भएकोलगायतका समस्या भएका बालबालिकालाई उक्त परियोजनाले निःशुल्क सेवा दिँदै आएको छ ।
उपचार सम्भव भएका समस्यालाई निको गराउन र यससम्बन्धी चेतना जगाउन सहयोग भएको परियोजनाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यको भनाइ छ ।
अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकासँग समन्वय गरेर काम गरिरहेको परियोजनाले गरीब तथा विपन्न परिवारका अपांगता भएका बालबालिकालाई प्राथमिकतामा राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्