Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


इतिल्हने सम्यक महादान पर्व सम्पन्न


0
Shares

सुरजवीर बज्राचार्य (इमेज)

काठमाडौं, फागुन १५ । प्रत्येक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व बिहीबार सम्पन्न भएको छ ।

‘दिपंकर पर्व’ नामलेसमेत प्रचलित यो पर्वका अवसरमा नेवार बौद्ध परम्पराअनुसार शाक्य भिक्षु, बज्राचार्य तथा ललितपुरका विभिन्न विहारहरुका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट दिपंकर बुद्ध, अवलोकितेश्वर, वसुन्धरादेवी, आर्यतारा आदि देवदेवताहरुलाई पूजा गरी दान प्रदान गरिएको छ ।

इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहेको आयोजकले जनाएको छ ।

सम्यक दान भन्नाले शुद्ध मनले निःस्वार्थरुपमा दान गर्ने एवं सम्यक सम्बोधितर्फ लैजाने बोधिसत्व मार्ग भन्ने बुझिन्छ । यो पर्वको सार दानपारमिताको अभ्यास हो ।

७०० वर्षदेखि निरन्तर यो परम्परा वि.सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना हुँदै आएको थियो भने त्यसपछि आयस्ताको कमीकै कारण प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ ।

यो आयोजना ४७२औं सम्यक आयोजना भएको प्रचार संयोजक लोकमान शाक्यले बताए ।

यही अवसरमा धाः बाजा प्रदर्शनसमेत गरिएको छ ।

इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथाअनुसार ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारोले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोबर जम्मा गरी साँचो सधैं आफूसँग राख्ने गरेको कुरा उल्लेख छ ।

ढुकुटीमा गोबर छ भन्ने थाहा नपाउन् भनेर सधैं साँचो आफूले राख्ने गरेका कारण उनकी पत्नीमा कौतुहलता थियो ।

एकदिन भरिभारोले वाग्मती नदीमा स्नान गर्न जाँदा साँचो बिर्से । साँचो भेटेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् ।

गोबर जम्मा गरेको कसरी सुन भएछ ! भनेर भरिभारो अचम्ममा परे । ढुकुटीमा हेर्दा साँच्चै सुनको भन्डार देखेपछि भरिभारोले ‘यो सब त्रिरत्नको आशिषले भएको’ आफ्नी पत्नीलाई बताए ।

यही धनबाट सम्यक महादान पर्व सुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।

यही जनविश्वासकै आधारमा हालसम्म ‘गोल्डेन टेम्प’ल नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहारको तत्वावधानमा २० स्थवीर आःजुहरुले यो पर्व आयोजना गर्दै आएको छ ।