खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज)
काठमाडौं, फागुन १४ । नेपाल ट्रष्टले व्यक्तिको नाममा कायम भएका आफ्नो चल–अचल सम्पत्ति खोज्न थालेसँगै काठमाडौंको मातातीर्थ र थानकोटमा रहेको था महादेवस्थान रहेको जग्गा विवादित बनेको छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पालामा मोहीहरुले प्राप्त गरेका जग्गाको ट्रष्टले फिर्ता ल्याउने प्रक्रिया अगाडि बढाएसँगै मोहीहरु त्रसित भएका छन् ।
नेपाल ट्रष्टको नजरमा परेको मातातीर्थको ३४ र थानकोट, महादेवस्थानको ४३ कित्ता रहेको १६१ रोपनी जमिनको दाबी गरेपछि जग्गा मोहीहरु त्रसित भएका छन् ।
उनीहरुले आफूहरुसँग जग्गाका कर तिरेको रसिद सुरक्षित रहेपनि ट्रष्टले जग्गा फिर्ता लैजान खोजको भन्दै आक्रोशित भएका छन् ।
२००४ सालदेखि नै तत्कालीन दरबारलाई पोत अर्थात् राजस्व तिर्दै आएका उनीहरुले बिर्ता उन्मूलन ऐन २०१६, बिर्ता उन्मूलन नियमावली २०१७, भूमिसम्बन्धी ऐन २०२१ र २०२६ सालमा नेपाल राजपत्रमा प्रकाशित सूचनापश्चात् अधिकांश मोहीहरुले मालपोत कार्यालयमा दर्ता गरेपनि विभिन्न कारणवश केही दर्ता गर्न छुटे ।
लामो समयसम्म जग्गाको भोगचलन गर्दै आएका मोहीहरुलाई नेपाल ट्रष्टले २०६४ सालपछि समाहित गरेपछि उनीहरुले राजनीतिक दलका नेतालाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ हुन सकेन ।
तर, भट्टराई नेतृत्वको सरकारले ट्रष्टमा आएका भनिएका जग्गाहरु वास्तविक ट्रष्टका हुन् वा होइनन् भन्ने विषय नीतिगत प्रश्न उब्जिएपछि मोही तथा उनीहरुका हकवालाको नाममा नामसरी गरिदिए ।
तर, ट्रष्टले आफ्नो चल–अचल सम्पत्ति खोजिरहेको समयमा भने अहिले ट्रष्टको नजरमा मातातीर्थ र था महादेवस्थानको जग्गासमेत परेको छ । उक्त जग्गामा अधिकांश स्थानहरु कित्ताकाट भएका जग्गाहरुमा संरचना निर्माण भइसकेका छन् ।
नेपाल ट्रष्टको कार्यालयबाट गठित समितिले भूमिसम्बन्धी ऐन, २०२१ को सातौं संशोधन २०७५ असोज २० को दफा २५ को उपदफा ५ बमोजिम नेपाल सरकारको स्वामित्वमा भएका जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने भन्दै २०७६ जेठ ७ मा ट्रष्टको कार्यालयमा समितिको रायसहित प्रतिवेदन पेस गरेपछि मोहीहरु पुन आतंकित भएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले जग्गाधनीसँग भेट्नेक्रममा आफ्नो समयमा भएको निर्णयका कारण किसानको हकका लागि आफूपनि लड्न तयार रहेको आश्वासन दिएका छन् ।
मोहीहरु भने ट्रष्टले जग्गा फिर्ता लगे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्