कञ्चनपुर । दोधारा–चाँदनी झोलुङ्गे पुल मर्मत गरिएको दुई महिना नबित्दै जीर्ण बनेको छ । एक करोड बढी लागतमा मर्मत गरिएको झोलुङ्ग पुल दुई महिनामै पुनः जीर्ण बनेको हो ।
मर्मत गरिएको दुई महिनामै झोलुङ्गे पुलको ठाँउठाँउमा नटबोल्ट तथा प्लेटहरु टुटेका छन् ।
पुलमा ५० किलो तौलसम्मका सामाग्री मात्रै बोक्न पाइने नियम बनाइए पनि मापदण्डविपरीत सामानहरु बोक्ने गरेकाले पुल कमजोर बन्दै गएको छ ।
पुलको दायाँ बायाँको जाली, नटबोल्ट तथा प्लेटहरु टुटेका छन् । पुल मर्मतका लागि खाम्पाचे-देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्स अमरगढी ५ जेभीसँग १ करोड १० लाख रुपैयाँमा सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेकाले मर्मत गरेको दुई महिनामा झोलुङ्गे पुलको प्लेटहरु टुटेको महाकाली नगरपालिका ६ का वडा अध्यक्ष तथा नगरप्रवक्ता दिलबहादुर सिंजालीले जानकारी दिए ।
उनले भत्किएको पुल मर्मतका लागि निर्माण कम्पनीलाई खबर गरिएको बताउँदै चाँडै नै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।
पुलको मर्मत भइरहेका बेला महाकाली नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतको टोलीले अनुगमनसमेत गरेको थियो ।
झोलुङ्गे पुलको मर्मतका लागि प्रदेश सरकारले एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
२०६१ सालमा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुलको लम्बाई १ हजार ४ सय ५२ मिटर रहेको छ ।









प्रतिक्रिया दिनुहोस्