Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नेकपामा वामदेवलाई प्रयोग गरेर ओलीलाई कमजोर बनाउने प्रयास


0
Shares

रोमन आचार्य र राजेन्द्र नापित (इमेज)

काठमाडौं, फागुन १३ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु आगामी आमनिर्वाचनमा पनि आफ्नो दलले दुईतिहाइ मत ल्याउने दाबी गरिरहेका छन् ।

यो भनाइविपरीत उपाध्यक्ष वामदेव गौतमलाई तीन वर्षपछि हुने आमनिर्वाचनबाट जिताएर प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउनेतिर नलागेर सिंगो पार्टी बदनाम गराउने गरी चोर बाटोबाट प्रधानमन्त्री बनाउने कसरत पनि भइरहेको छ ।

नेकपाको आन्तरिक समीकरणमा गौतम जता ढल्किन्छन्, त्यतै तराजु ढल्किन्छ ।

यही शक्तिको आडमा पार्टीको विधानै संशोधन गरी उपाध्यक्ष बन्न सफल गौतम प्रधानमन्त्री बन्न पनि चोर बाटो खोजिरहेका छन् ।

२०७४ सालको निर्वाचनमा बर्दिया–२ मा पराजय भोग्नुको कारण अन्तर्घात भएको निष्कर्षमा पुगेका गौतमले नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटी अन्तर्घातीलाई कारबाही गर्न दबाब दिएका थिए ।

नेकपाको प्रदेश कमिटीले तीन सदस्यीय छानबिन समिति बनाएर थामथुम पारियो ।

शक्तिशाली विकास प्राधिकरण गठन गरी नेतृत्व दिन ‘बार्गेनिङ’ गरे पनि असफल भएपछि गौतम ओलीसँग टाढिए । त्यसपछि गौतम प्रतिनिधिसभा सदस्य बन्न लागिरहे ।

उनले काठमाडौं क्षेत्र नम्बर–७ मा आँखा लगाएपछि सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भए । तर, चौतर्फी विरोधसँगै ओलीले गौतम महत्वाकांक्षामा ‘ब्रेक’ लगाइदिए ।

गौतमले डोल्पाका धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव लड्ने योजना पनि बनाए भने दैलेख र बाँकेतिर कुनै क्षेत्र खाली गराउने प्रयास भयो ।

गौतमले रवीन्द्र अधिकारीको मृत्युपछि रिक्त कास्कीको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा पनि लोभ देखाए । ती सबै अस्त्र काम लागेनन् । अनि, गौतमको ध्यान राष्ट्रियसभा सदस्य बन्ने र संविधान संशोधन गराएर प्रधानमन्त्री बन्नेतिर तानियो ।

सोही प्रयासस्वरुप गौतमले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत हुने र संविधान संशोधनमार्फत् प्रधानमन्त्री बन्ने अन्तिम अस्त्र अहिले प्रयोग गरिरहेका छन् ।

पार्टी नेतृत्व दबाबमा आएको भएपनि बढ्दो विरोधले गौतमको सपना चकनाचुर हुने सम्भावना बढेको छ ।

गौतम र नेकपाको प्रयास अर्को आमनिर्वाचनमा पराजित हुने मानसिकताको उपज त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।

राजनीतिक विश्लेषक आनन्दराम पौडेल वामदेव प्रकरणलाई आसन्न निर्वाचनमा पराजयको डर नभइ नेकपामा ओलीलाई एक्ल्याउने खेलका रुपमा लिन्छन् ।

हो, गौतमको महत्वाकांक्षामा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक भविष्य खोजेको हुन सक्छ । यो नेकपाका लागि घातक कदम हुनेछ ।

एक वर्षपछि हुने नेकपाको महाधिवेशनका लागि नेताहरु जोड–घटाउमा लागेका हुन सक्छन् । त्यसमा वामदेव ‘कार्ड’ उपयोग भइरहेको छ । यसले गौतम स्वयमलाई चाहिँ लाभ मिलिहाल्ने देखिँदैन ।

भिडियो हेर्नुहोस्