२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


ओलीको उत्रियो नकाब, पहिर्‍याइदिउ श्रीपेच


0
Shares

राजन कुईकेल । 

धेरैलाई लागेको थियो केपी ओली मुलुकको प्रधानमन्त्री भए भने मुलुकको कायापलट हुनेछ । हुनु स्वाभाविक थियो, चुनाव र चुनावअघिको परिस्थितिमा ओलीले गरेका भाषणले मानिसलाई एउटा आशाको भ्रम पैदा गरिदिएको थियो । अझ नेपालको संविधानका विषय असन्तुष्ट रहेको भनिएको भारतले उसको निकट मानिने मधेश केन्द्रित दललाई उचालेर तराई मधेश ठप्प पारेको थियो । ६ महिनासम्मको अघोषित नाकाबन्दीले मुलुकको अर्थतन्त्रको ढाड भाँचिएको थियो ।  

राजतन्त्रको अन्त्यपछि मुलुकको संस्थापनको जिम्मेवारी लिनुपर्ने कांग्रेस नेतृत्वको निकम्मापनमा सडिरहेको थियो । भारतले गरेको ज्यादतीविरुद्ध कांग्रेस नेतृत्व चुँसम्म नबोलिरहेका अवस्थामा ओलीले नै नाकाबन्दीविरुद्ध शीर ठाडो बनाएर प्रतिवाद गरे । भारतले नाकाबन्दी फिर्ता नलिँदासम्म भारत भ्रमणमै नजाने अडान लिए । कांग्रेस सँगै सत्ताको डुंगामा रहेका माओवादीलाई आफूसँग चुनावी गठजोठमा भित्र्याए । 

शेरबहादुर देउवा सरकार आफुले लिएका अलोकप्रिय निर्णयका कारण जनतामा आलोच्य बनिरहेको थियो । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने प्रस्ताव, आईजीपी नियुक्ति प्रकरण, राजदूत नियुक्ति, विभिन्न भ्रष्टाचराका प्रकरणलगायतका प्रकरणमा देउवाले आफुसँगै कांग्रेसलाई जनताका बीचमा मुख देखाउन लायक बनाएका थिएनन् । देउवाका निर्णयले पार्टीको साख जनमानसमा धूमिल हुँदा पनि बाँकी रहेका कांग्रेसी नेताहरु दूधको साक्षी बिरोलो बनिरहेका थिए । 

एकातिर देउवा सरकारका एकपछि अर्का अलोकप्रिय निर्णय, अर्कातिर ओलीको ‘राष्ट्रवादी’ अडान, अनि दुई कम्युनिष्ट पार्टीको सहकार्य, विकासलगायत सपनाका कारण देशभरबाट कांग्रेस निर्वाचनमा बढारियो । ओली शक्तिशाली पात्रका रुपमा राजनीतिक परिदृश्यमा उदाए । यही क्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एमालेमा विलय गर्ने निर्णय गरे । पार्टीको नाम नेकपा त राखियो तर समयक्रममा दाहाल ओलीका सहायक जस्ता मात्र देखिए । ओलीको एकछत्र दलभित्र र बाहिर जताततै देखियो । 

पार्टी एक गरेसँगै संसदलाई विपक्षीविहीन बनाउने अभियानमा उनी जुटे । मधेशी दललाई अराष्ट्रवादी तत्वसम्म भन्न पछि नपरेका ओलीले कांग्रेसलाई एक्ल्याउन संघीय फोरमका उपेन्द्र यादव र राजपका महन्थ ठाकुरसम्मको समर्थनमा सरकार गठन गरे । यादवले त सरकारमै पुगेर ओलीलाई सघाए । राजपाले भने पछि समर्थन फिर्ता लियो । तर ओलीले असलियत देखाइदिएपछि यादव सरकारबाट बाहिरिएलगत्तै राजपा त्यो स्थानमा जान खुट्टा उचालेर बसिरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा राजपाले ओलीसँगै सहकार्य गर्‍यो । 

शुरुका केही महिना ओली सरकारले केही गर्लां कि भन्ने आशा जनतामा थियो । ओलीले विकासका डंका पनि पिटिरहेकै थिए । जब जब दिनहरु बित्न थाले ओली सरकार एकपछि अर्को गर्दै विवादमा पर्न थाल्यो । ओलीदेखि उनका मन्त्रीहरुले संविधान र लोकतन्त्रका आधारभूत मर्म नै मार्ने गरी निर्णयहरु गर्न थाले । त्यस्ता विधेयक नै बनाएर संसदबाट पारित गराए । गराउने प्रयास गरिरहे । सञ्चारसँग जोडिएका, मानवअधिकार, अख्तियार, नागरिक स्वतन्त्रताजस्ता कानुनमा ओली सरकारको लगातार बक्रदृष्टि परिरह्यो । आफूनिकट व्यक्ति, व्यापारी र स्वार्थ समूहलाई लाभ मिल्ने गरी निर्णयहरु हुन थाले । स्वार्थ समूहलाई लाभ पुर्‍याउनकै लागि गरिएका निर्णयहरुलाई पनि नीतिगतको जामा पहिर्‍याइयो । र मन्त्रिपरिषदबाटै पारित गर्ने चोरबाटो अवलम्बन गर्न थालियो । यसको कारण थियो यसरी गरिएका नीतिविहीन निर्णयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका अनुगमनकारी निकायको पहुँच रोक्नु थियो ।   

हो कायापलट त भयो तर भ्रष्टाचारको आकारमा, देश लूट्ने शैलीमा र अपराधकर्ममा लिप्त आफ्नाहरुलाई जोगाउने विषयमा । हुँदाहुँदा सामन्त भनिएका राजा महाराजाहरुले पनि गर्न नसकेको/नचाहेका कामसमेत प्रधानमन्त्री ओलीले गरिदिए । आफूलाई समाजवादको बाटोमा लम्केको कम्युनिष्ट भन्ने सरकारको शैली जसरी जनतासामु छचल्किदैछ, त्यसले देखाउँदै छ कि सत्ता कति निर्मम हुँदो रहेछ भन्ने । 

आफूनिकटका व्यापारी पोस्नका लागि उनले यति होल्डिङ्सलाई राज्यका स्रोत सुम्पनका लागि नेपाल ट्रष्टको कानुन नै संशोधन गरिदिए । पूर्वराजा वीरेन्द्रको नामका रहेका नेपाल ट्रष्टमा ल्याइएको सबैजसो सम्पत्ति एकपछि अर्को गर्दै यति ग्रुपकाका मालिक आङछिरिङ शेर्पा र उनका सन्तानलाई सुम्पिए । देशका एकसेएक कूटनीतिक क्षमता भएका मान्छेलाई पाखा लगाएर शेर्पाकै छोरीलाई राजदूत बनाएर पठाउनसमेत पछि परेनन् । 

असाध्यै पुलपुल्याएका गोकुल बाँस्कोटाले सुरक्षण प्रिन्टिङ प्रेस खरिदमा कसरी अरर्बौको कमिशन कुम्ल्याउन खोज्दै थिए भन्ने खुलिसकेको छ । योमात्र होइन यस्ता ठूला रकमको खरिदका यही आकारका कमिशनको खेल हुने गरेको पनि छल्र्लंग भैसक्यो । वाइड बडीकाण्डमा चार/चार अर्बको घोटाला भएको संसदीय समितिको प्रतिवेदनलाई कसरी तुहाइयो भन्ने देखेको जनताका लागि अब प्रधानमन्त्री ओलीले बाँस्कोटाकाण्डमा निष्पक्ष छानबिन गराउँछन् भन्ने विश्वास गर्ने आधार सकिएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता उनको देखाउने दाँत मात्र भएको छ ।    

बालुवाटार जग्गाकाण्डमा आफुनिकटलाई जोगाउनेदेखि, गोकर्ण रिसोर्टकाण्ड, दरबारअगाडीको जग्गाकाण्ड, सगरमाथा बेसक्याम्पनजिकको जग्गाकाण्ड, पाथिभरा जग्गाकाण्डलगायतका अनेकन काण्डमा सरकारको धोती नराम्ररी फुस्किसकेको छ । अझ यस्ता काण्डमा फसेको त्यही यती ग्रुपको प्रायोजनमा आफ्नो जन्मदिन मनाउन उनी जन्मथलो तेह्रथुम पुगे । विलासी र राजसी शैलीमा काठमाडौंबाट हेलिकोप्टरमा केक बोकाएर लगी जन्मदिन मनाइयो । त्यो पनि नेपालको नक्शा भएको केक काटेर उनले जन्मदिन मनाएपछि उनको महासामन्ती सोच अझै छर्लङ्ग भएको छ । 

त्यसैले राजा ज्ञानेन्द्रले गद्दी त्याग्दा छाडेर गएको र नारायणहिटी संग्रहालयको भण्डार कोठामा कैद राखिएको श्रीपेच बाहिर निकालौं । नारायणहिटी प्रांगणमै श्रीपेच पहिर्‍याउने समारोह आयोजना गरौं । सम्पूर्ण योग्यताधारी, नेकपाका अध्यक्ष, दुई तिहाईनजिक सत्ताका सञ्चालक, परमाधिपति ओलीलाई श्रीपेच पहिर्‍याइदिऔं । अब मञ्चमा यो नै एउटा दृष्य हेर्न बाँकी न छ !