
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी कायमपछि अब चाँडै नै भाषाको पनि टुंगो लगाइने बताउनुभएको छ ।
मंगलबार प्रदेश सरकार गठनको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सत्तारुढ र सत्ता बाहिर रहेका दलहरुको सहयोगमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्न सफल भएकाे बताउनुभएकाे हाे । ४-५ महिना भित्र नै भाषाको टुंगो लगाइने बताउनुभएकाे छ ।
उहाँले भने गएका चार वर्षमा हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण कार्यक्रम सफलताका साथै बेटी पढाउ बेटी बचाउ, प्राविधिक विश्वविद्यालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशी शहीद प्रतिष्ठान र जनलोकपाल आयोग लगायतका ठूला गौरवका आयोजनाहरुमा काम गरेको समेत बताउनुभयो ।
मुख्यमन्त्री राउतले बितेका चार वर्षमा हामीले ४४ वटा कानून निर्माण, प्रदेशको प्रशासनिक सहितको संरचना निर्माणका लागि समिति गठन, मधेश आन्दोलनका शहीद परिवारहरुलाई रोजगारी, मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारहरुलाई राहत स्वरुप आर्थिक सहयोग र स्वच्छता अभियान अन्तर्गत प्रदेश भित्रका विभिन्न मन्दिर र पोखरीहरुको सौन्दर्यकरण लगायतका कामहरु गरेको बताउनुभयाे ।
कोभिड महामारीका बेला त्यससँग लड्न प्रदेश सरकारले निशुल्क पिसीआर परिक्षणदेखि उपचारको व्यवस्था, राहत वितरण, मार्कामा परेका किसानलाई ऋण छुट, कोरोना विरुद्धको मास्क, सेनीटाइजर वितरण र सुविधा सम्पन्न अस्पतालको निर्माण राम्रो कामहरु गरेकाे उहाँकाे दावी छ ।
प्रतिक्रिया दिनुहोस्