पोखरा, फागुन १२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।
राष्ट्रिय आकांक्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामर्थ्यका साथै इच्छाशक्तिसमेत वर्तमान सरकारमा रहेको बताए ।
पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पस्ट सैद्धान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पस्ट पारे ।
‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौं’–उनले भने–‘दर्शन समाज परिवर्तनका साथै मानवजीवनको दक्षताका लागि हुनुपर्छ ।’
अहिले मार्क्सवाद नबुझेकाले मात्र कम्युनिस्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले मार्क्सवादले मानवीय आकांक्षालाई प्रतिविम्बित गर्दै दार्शनिक बाटो दिने बताए ।
अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उनले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत् मानवअधिकारका विविध आयामलाई समेटेको बताए ।
‘मार्क्सवाद विषयवस्तुको ग्रन्थ होइन, समाजवाद हो । यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ’–विरोधका लागि विरोध गर्ने प्रवृत्तिका कारण केही विषय नपाएपछि गैरविषयलाई विषय बनाइएको बताउँदै उनले भने–‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।’
संसदमा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मन्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउने सक्रियता भइरहेको प्रधानमन्त्रीले बताए ।
‘हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौं, दूरगामी महत्व र असाधारण कामको थालनी भएको छ’–प्रधानमन्त्री ओलीले भने–‘जनताले महसुस गर्ने काम गरेका छौं । सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको संकल्प र उत्तरदायित्व बोकेको सरकार हो ।’
जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै : मुख्यमन्त्री गुरुङ
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताउँदै जनताका सुख–दुःखमा साथ र सहयोगका लागि उनीहरूका घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता औंल्याए ।
कम्युनिस्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उनले पार्टीको अस्तित्व सक्ने गरी कुनैपनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने बताए ।
जनतामा आधारित पार्टीका रूपमा यसको विकास हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताए ।
पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप मजबुत् र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारीजस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।
पार्टीमा सादा जीवन, उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको जिकिर गरे । रासस









प्रतिक्रिया दिनुहोस्