सन्तोष राउत/ईमेज
सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापाता सहितको सामाग्री खसालेको बिषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ ।
पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्य टोलीले आइतबार हेलिकोप्टर मार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डययन कार्यालय लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए ।
समितिका संयोजक लामासहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर बरुण ज्ञावाली, प्रहरी प्रमुख प्रहरी नावय उपरिक्षक टेकुनन्द इवा लिम्बु, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु बिमानस्थलका प्रमुख प्रकाश शर्मा सहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो ।
घना जङ्गल भएकाले हेलिकोप्टर बस्ने ठाँउ नभएकाले अकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेर लुक्ला फर्केेको टोलीले केही दिनमा प्रतिवेदन बुझाउने तेञ्जिङ हिलारी विमानस्थल लुक्लाका प्रमुख अधिकारीले बताए । घटनाको विषयमा प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताइएको छ ।
टाक्सिन्दु पुगेका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उरिक्षक टेकनन्द इवा लिम्बुले अव्यवस्थित कार्गो ढुवानी भएको पाइएकाले कार्गो ढुवानीमा प्रयोग गरिने जाली च्यातिएर सामाग्री खसेको बताए । घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै उनले तत्कालको लागि टाक्सिन्दुको प्रहरीले अनिवार्य रुपमा निगरानी राख्ने बताए ।
सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङल्हमू गाउँपालिका–४ दिङ्बुचेका लागि कार्गो समान लिएर उडेको हेलिकोप्टरबाट निर्माणका सामग्री खसेको थियो । उडिरहेको अवस्थमा सोलुदूधकुण्ड नगरपालिका–१ को खोला नजिक रहेको जङ्गलमा दुई रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
कैलाश एयरको नाइन एनएएमटीको हेलिकोप्टरले दिङ्बुचेका कुलबहादुर तामाङको निजी सामाग्री लिएर टाक्सिन्दुबाट उडेको थियो । खुम्बुक्षेत्रको लागि सामाग्री ढुवानी गर्दा सानो हेलिकोप्टरले बाहिर झुण्डाएर ढुवानी गर्ने गरेको छ ।
नेपाल नागरिक उड्डयन ऐन २०७३ को परिच्छेद ८ को हवाई सुरक्षा अन्तर्गत खानतलासी गर्नुपर्ने दफा १ मा विमानस्थलका अधिकार प्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराइ कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु गराउनु हुँदैन भन्ने उल्लेख भए पनि यहाँको उडान हुने स्थलमा कुनै सुरक्षा जाँच गर्ने व्यवस्था गरिएको छैन ।
ऐनको परिच्छेद १२ को बुँदा नम्बर ९४ को दफा २ को (क) मा उडान योग्यताको प्रमाणपत्र वा उडान अनुमति बिना त्यस्तो प्रमाणपत्र वा अनुमतिमा तोकिएको शर्त विपरीत हुनेगरी वायुयान संचालन गरेमा एक लाखदेखि १० लाख रुपैंयाँसम्म जरिबाना हुनसक्ने व्यवस्था पनि उल्लेख छ ।
गएको भदौ १९ गते पनि उडिरहेको कैलाश एयरकै हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका–२ को फेरामा सिरकलगायतका सामग्री खसेको थियो । घनाजङ्गलमा भएकाले मानवीय क्षति नभएको र मावनबस्तीमा खसेको भए क्षति हुनसक्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्