Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न गृहकार्य


0
Shares

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा सुबासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य छन् । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने हो भने राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेपछि संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको हो ।

नेकपा सचिवालय वैठकले शनिबार नै गौतमलाई राष्ट्रपतिको कोटामा मनोनित गरी राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ब्यक्ति मात्रै प्रधानमन्त्री बन्न योग्य हुन्छ ।

उक्त प्रावधान संशोधन गर्ने कोशिसमा नेकपा लागेको हो । राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यही फागुन २० गते सकिने भएकाले उक्त कोटामा बामदेव गौतमलाई लैजाने प्रस्ताव समेत गरिएको छ ।