-प्रकाश लम्साल/ ईमेज
बारा । प्रदेश नं. २ अन्तर्गतका विभिन्न राजमार्गमा चालकको लापरबाहीका कारण दुर्घटना बढेपछि पछिल्लो समय ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।
सवारी चालकको अटेरी स्वभाव बढेको भन्दै प्रहरीले सक्रियता बढाएपछि दुर्घटनामा कमी समेत आएको छ ।
प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले मातहतका ८ वटा जिल्लामा सवारी साधन चेकजाँचमा अनुरोध गर्दै राजमार्गमा प्रत्येक दिन उपस्थित रहन निर्देशन जारी गरेको छ ।
दुर्घटना कम गर्न उपलब्ध साधन स्रोतसहित राजमार्गको उपस्थिति बलियो बनाएपछि त्यसको प्रभावकारिता देखिएको हो ।
प्रदेश नं. २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक श्याम कुमार महत्तो राजमार्गमा ट्राफिक प्रहरीले कडाइ थालेपछि सवारी दुर्घटना र मृत्युको दर घटेको बताउँछन् ।
अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको भन्दै चालकलाई संयमित र अनुशासित बनाउनुपर्नेमा प्रहरीले जोड दिएको छ ।
तीव्र गति, यान्त्रिक गडबढी, मादक पदार्थको सेवन तथा गन्तव्यमा छिटो पुग्ने होडबाजीजस्ता कारणलाई दुर्घटना निम्ताइरहेका छन् ।
बाराको अमलेखगन्जदेखि पथलैया हुँदै निजगढसम्मको सडकलाई मृत्यु मार्ग पनि भन्ने गरिन्छ ।
अत्याधिक दुर्घटनाग्रस्त क्षेत्रको पहिचान गरी प्रहरी सक्रियता बढाइएको छ ।
ट्राफिक प्रहरीले निगरानी बढाएमा दुर्घटनामा कमी आउने पथैलैयाका स्थानीय प्रमोद श्रेष्ठको भनाइ छ ।
प्रदेश २ मा गत आर्थिक वर्षमा भएका ९ सय १४ सवारी दुर्घटनामा ४ सय ९६ जनाले ज्यान गुमाएका थिए ।
चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ५ सय २७ वटा सवारी साधन दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
दुर्घटना न्यूनीकरणमा सडक सुधार, चालकको संयमता र प्र्रहरीको निगरानीले महत्वपूर्ण प्रभाव पार्न सक्छन् ।









प्रतिक्रिया दिनुहोस्