
अत्तरिया, फागुन १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सीमित भएको बताए ।
अध्यक्ष थापाले भने–‘लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ । अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।’
देशमा संस्थागत र नीतिगतरुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न जनता जाग्ने बेला आएको उनको भनाइ थियो ।
‘एमसीसी’बारे पत्रकारको जिज्ञासामा उनले सबै राजनीतिक दलको सहमतिमा तयार पारिएको सम्झौता भएको भन्दै यसलाई पारित गरी कार्यान्वयनमा ल्याउनु सबैको जिम्मेवारी रहेको बताए ।
एमसीसी नेपालको हितमा रहेकाले यसमा विवाद गर्नुको औचित्य नरहेको उनको भनाइ थियो ।
आफ्नो पार्टीको एजेन्डा हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र रहेको उल्लेख गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारको अभियानमा अघि बढ्ने बताए । रासस
प्रतिक्रिया दिनुहोस्