प्रज्ञा तिमल्सिना र देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, फागुन ९ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी शिवरात्रि पर्व मनाइरहेका हुन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चारओटा प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।
सम्पूर्ण दीनदुःखी र संकटले घेरिएका प्राणीहरूको हृदयमा बास गरी कल्याण गर्ने आशुतोष भगवान् शिवको अति प्यारो दिन नै शिवरात्रि हो ।
यस दिन देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लागेको छ । द्वादश ज्योतिर्लिङ्गको शिर मानिने पशुपतिनाथमा दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरु पुगे ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारओटै ढोका खोलिएको थियो । यस वर्ष भने पाशुपत क्षेत्र फूलले ढपक्कै ढाकिएको छ ।
बिहानैदेखि भक्तजनहरुको भीडभाडसमेत बढेको थियो भने कोही व्यस्त थिए, भजन–कीर्तन गर्नमा । अनि, कोही व्यस्त थिए, मन्दिर परिसरमा सजाइएका फूलहरुमा फोटो खिच्न ।
पाशुपत क्षेत्र अन्य वर्षहरुमाभन्दा धेरै भिन्न र व्यवस्थापनसमेत राम्रो भएको भन्दै भक्तजनहरुले समेत खुसी व्यक्त गरेका छन् ।
शिवरात्रिको अवसरमा विश्वका विभिन्न देशबाट हिन्दू धर्मावलम्बीहरु पशुपतिनाथको दर्शन गर्न नेपाल आउने गर्छन् ।
नेपालका विभिन्न जिल्लाबाट महाशिवरात्रिका लागि नै पाशुपत आउनेहरुको समेत संख्या निकै रहेको छ ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. धनश्याम खतिवडाले व्यवस्थापन पक्ष राम्रो बनाएको बताए ।
सुरक्षाकर्मी र स्वयंसेविकाहरुसमेत धेरै खटाएको भन्दै उनले धेरै समय लाइनमा बस्नु नपरेको दाबी गरे ।
व्रतहरु मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्