Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


करोडौं मूल्यका अस्थायी शिविरका संरचनाहरु नष्ट हुँदै


0
Shares

इलाम, फागुन ९ । शान्ति प्रक्रियाका क्रममा तत्कालीन नेकपा माओवादीका लडाकूहरुका लागि इलाममा निर्माण गरिएका करोडौं मूल्यका अस्थायी शिविरका संरचनाहरु नष्ट हुन थालेका छन् ।

माओवादी लडाकूको प्रथम डिभिजनअन्तर्गत् इलामको माई नगरपालिका–४, दानाबारीमा निर्मित विप्लव सिर्जन स्मृति ब्रिगेट सहायक शिविरका संरचनाहरु नष्ट हुन थालेका हुन् ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत् निर्माण गरिएका ५० ओटाभन्दा बढी संरचना संरक्षणको अभावमा जीर्ण बनेका छन् ।

शान्ति प्रक्रियाका क्रममा सेना समायोजनपछि माओवादी लडाकूले छाडेका ती संरचना संरक्षणमा सम्बन्धित पक्षको ध्यान नजाँदा सबै संरचनाहरु जीर्ण बनेका हुन् । संरचना संरक्षण, सम्वर्द्धन र व्यवस्थापनका लागि कसैको ध्यान गएको छैन ।

संघीय, प्रदेश र स्थानीय सरकार बनिसक्दासमेत कुनै सरकारले चासो नदिएको स्थानीय बताउँछन् ।

३४ हेक्टर क्षेत्रफलमा फैलिएको सो शिविर झाडीले ढाकेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प बसेको केही भागबाहेक सबै क्षेत्र झाडीमा परिणत भएको छ ।

शान्ति प्रक्रियाका क्रममा तत्कालीन माओवादी लडाकू राख्नका लागि देशैभर सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएका थिए ।