२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


वनकरियाको पनि हो यो भूमि


104
Shares

काठमाडौं । वनकरियाको बासस्थान वन क्षेत्र नै हो। गुजारा यही चलाउँछन्, अनि छाडेर जाने कहाँ रु जाति लोपोन्मुख छ।

संख्या सानो छ। तर, समस्या ठूलो। नेपालको कानुनले वनमा कसैलाई घर बनाएर बस्न कहाँ दिन्थ्यो १ जसोतसो पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जको वन क्षेत्रभित्र वनकरिया जातिको बसोबास छ। खास बस्ती त अझ मकवानपुरको मनहरी—४ को मुसेधाप कबुलियती वनमा छ।

जतिबेलादेखि वनकरिया वनमा बस्दै आए, त्यतिबेला वनको कानुन नै थिएन। वनलाई राष्ट्रिय, सामुदायिक र कबुलियती बनाउनुअघिदेखि नै वनकरिया जाति वनमा नै थियो। त्यतिबेला वनमा बस्नै पाइन्नथ्यो कसैले भन्दैनथिए।

अरू जाति पनि त आखिर वनकै बास बस्दैबस्दै अचेल गाउँसहरमा बस्न आइपुगेका हुन्। त्यसकारण पनि यो समुदायको उचित संरक्षण आवश्यक छ। वनकरियाले वन छाड्न सकेका छैनन्। अरूले वनै मासेर अस्तित्व मेटाएर बस्ती बसाए।

त्यसको उदाहरण नेपालको तराईं मधेसका धेरैजसो जिल्लाका सदरमुकाम नै हुन्। वनजंगल उजाडियो। आदिवासीको बस्ती उजाडियो। अरू आए, बस्ती जमाए। तर, निमुखो वनकरिया जातिले केही गर्न सकेन।

निर्धालाई ऐन लाग्ने जमानामा त्यसैको मिसाइल वनकरिया बनेका जो छन्। पर्सा निकुञ्जमा पहिला २० वर्षको अनुमति पाए वनकरियाले।

त्यो मोहल्लत घर्किन लाग्दैछ। वन छाड्न निकुञ्जको दबाब बढ्दैछ। अब वनकरिया कहाँ जाने रु पर्साका मात्रै होइन, सुनखोलाबेंसी, हाँडीखोला, चौराबेशिर चुरे उत्तरका वनकरिया कहाँ जाने ?

समयमा समाधान निकाल्नुपर्छ। निकुञ्जले आफ्नै नियम लगाउँछ। बसाइ छाड्न दबाब दिन्छ। तर, वनकरियालाई त्यसरी न्याय हुँदैन। प्राकृतिक न्यायको सिद्धान्तअनुसारको न्याय चाहिन्छ।

यो समस्यालाई निकुञ्जसँग जोड्न पनि मिल्दैन। त्यससँग सम्बन्धित समस्याका रूपमा बुझ्न अल्पज्ञान हुन्छ। यो त वनकरिया एउटा मानव जाति हो। यसको पनि यो धर्तीमा प्राकृतिक स्रोत साधनमा उत्तिकै हक छ, जति अरूको।

अर्को कुरा वनकरियालाई आवास दिनुपर्ने, जीविकोपार्जनको उपाय दिनुपर्ने निकुञ्जले होइन राज्यले हो। उनीहरू पनि यो देशका सार्वभौम नागरिक हुन्। जहाँ अरू सबै नागरिक सरहको हक जताउन पाउनुपर्छ।

अन्नपूर्ण पोष्ट