१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


कोरोना भाइरस: मृतकको संख्या दुइ हजार १२० पुग्यो, हुबेइमा एकैदिन १०८ को मृत्यु


0
Shares

एजेन्सी । कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय बीस पुगेको हो ।

चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार हिजो मात्र एक सय आठ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र दुई हजार बीस जनाको मृत्यु भइसकेको छ । यस्तै अन्य शहरसहित चीनमा मात्र दुई हजार एक सय बाह्र जनाको ज्यान गएको छ ।

चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ । जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सातसय यात्रु मध्ये २१ जनामा कोरोनाको सरंक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।

यसैबीच इरानको तेहरानमा पनि कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कूममा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यपूर्वको कोरोनाको प्रभाव पहिलो पटक देखिएको हो ।