Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


काखबाटै चोरेर विदेश : धर्म-सन्तानका नाममा अमेरिका र युरोपमा बालबालिका तस्करी


0
Shares

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे । उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण ।

उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए। खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए ।

घटना १० वर्षअघिको हो । उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन। उल्टै ज्यानको धम्की आउन थाल्यो ।

बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए।  आयोगले ती बालकको खोजी गर्‍यो। पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन् ।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्‍याइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो ।’

विदेश पुर्‍याउन चोर बाटो

सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र÷पुत्री बनाएर विदेश पुर्‍याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ ।

तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ ।

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै छ। -अन्नपूर्ण पोष्ट दैनिकबाट