काठमाडौं, फागुन ७ । प्रत्येक पाँच वर्षमा हुँदै आएको इतिल्हने सम्यक महादान पर्व यो वर्ष फागुन १४ र १५ गते परेको छ ।
फागुन शुक्ल तृतीयाको दिन आयोजना हुने यो पर्व ‘दिपंकर पर्व’ नामले समेत प्रचलित छ ।
यो पर्वको अघिल्लो दिन (१४ गते बुधबार) साँझ ७ बजे विशाल दिपंकर बुद्ध प्रतिभाहरु पाटन दरबार क्षेत्रमा भेला गराइन्छ ।
सोही स्थानबाट बाजागाजासहित नचाइँदै ललितपुर महानगरको नागबहालमा ल्याइने दृष्य निकै महमोहन हुनेगर्दछ ।
दिपंखाजस्तो दुर्लभ परम्परासमेत आयोजना हुने यही नागबहालमा स्वागत गरी परम्पराअनुसार निश्चित गरिएको स्थान ग्रहण गराइने कार्यक्रम रहेको जानकारी आयोजित पत्रकार सम्मेलनमा गराएको छ ।
दोस्रो दिन (बिहीबार) मध्यरातपछि पूजा, महाद्विप प्रज्वलन, महायज्ञ, महादान कार्य आरम्भ हुनेछ । महादान कार्य १५ गते साँझ ४ बजेसम्म हुनेछ ।
नेवार बौद्ध परम्पराअनुसार शाक्य भिक्षु, बज्राचार्य तथा ललितपुरका विभिन्न विहारहरुका साथै काठमाडौं, भक्तपुर, कीर्तिपुर, चोभारबाट दिपंकर बुद्धहरु, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारा आदि देवदेवताहरुलाई पूजा गरी दान प्रदान गरिन्छ ।
यो वर्ष आयोजना हुने इतिल्हने सम्यक महादान पर्वमा १४९ देवदेवता रहने आयोजकले जनाएको छ ।
यही पर्वको अवसरमा हालसम्म दान दिने रोटी पकाउने तथा बासुकी नागराज र चम्पक नागराजको ज्यूनास पूजा पनि सम्पन्न भएको छ भइसकेको छ भने बिहीबार (८ गते) यःसिं (लिङ्गो) ठड्याइने कार्यक्रम रहेको छ ।
७०० वर्षदेखि निरन्तर यो परम्परा वि.सं. १८६१ सम्म प्रत्येक वर्ष आयोजना हुँदै आएको थियो भने त्यसपछि आयस्ताको कमीकै कारण प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको छ । यो आयोजना ४७२औं सम्यक आयोजना हो ।
इतिल्हने सम्यक महादान पर्वसँग जोडिएको पौराणिक कथा
ठकुरी वंशको राजा भाष्करदेवका सन्तति भरिभारो भन्ने व्यक्तिले आफ्नो दरिद्रता लुकाउन ढुकुटीमा गाईको गोवर जम्मा गरी साँचो सँधै आफूसँग राख्ने गरेको कुरा उल्लेख छ ।
ढुकुटी गोबर छ भन्ने थाहा नपाउन् भनेर सँधै साँचो आफूले राख्ने गरेको कारण उसकी पत्नीमा कौतुहलता थियो । एकदिन भरिभारोले वाग्मती नदीमा स्थान गर्न जाँदा साँचो बिर्सेर गए ।
साँचो देखेपछि उत्सुक पत्नीले ढुकुटी खोली हेर्दा ढुकुटी सुनले भरिएको फेला पारिन् । यो कुरा उनले पति फर्कनासाथ सुनाइन् । गोबर जम्मा गरेको कसरी सुन भएछ भनेर भरिभारो अचम्ममा परे ।
ढुकुटीमा हेर्दा साँच्चै सुनको भण्डार देखेपछि भरिभारोले ‘यो सब त्रिरत्नको आशिषले भएको’ आफ्नी पत्नीलाई बताए ।
यही धनबाट सम्यक महादान पर्व सुरु गरी पर्व निरन्तरताका लागि सम्यक गुथि स्थापना गरी हिरण्यवर्ण महाविहारलाई जिम्मा लगाएको कथन छ ।
यही जनविश्वासकै आधारमा हालसम्म ‘गोल्डेन टेम्पल’ नामले विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहारको तत्वावधानमा २० स्थवीर आःजुहरुले यो पर्व आयोजना गर्दै आएको छ ।
ललितपुरको यति महत्वपूर्ण पर्वमा ललितपुर महानगरपालिकाले सघाउने तत्परता नदेखाएको गुनासो पनि आयोजक समितिले गरेको छ ।










प्रतिक्रिया दिनुहोस्