काठमाडौं, फागुन ६ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले ‘कोरोनाभाइरस’को संक्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।
मंगलबारको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर ‘क्वारेन्टाइन’मा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरे ।
चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे ।
सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ ।
नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै ‘रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ ?’ भनी प्रश्न गरे । रासस









प्रतिक्रिया दिनुहोस्