
विराटनगर । मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढेको जनाइएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।
प्रजिअ दाहालका अनुसार पछिल्लोपटक कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि फार्ममा रहेका २ हजार ब्रोइलरमध्ये ७ सय वटा कुखुरा मरेको र नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएकाले सोमबार बाँकी कुखुरा नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।
त्यसै गरी ग्रामथान गाउँपालिका–१ स्थित १ हजार २० वटा बोइलर कुखुरा रहेको श्रीगणेश कृषि फार्ममा पनि बर्डफ्लु पुष्टि भएपछि नष्ट गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । केही दिनअघि मात्रै गोपाल साहले सञ्चालन गरेको ग्रामथानस्थित श्रीगणेश कृषि फार्ममा रहेका १ हजार लोकल र १ हजार ब्रोइलर कुखुरामध्ये एक महिना उमेरका २ सयवटा लोकल कुखुरामा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको थियो । उक्त फार्ममा रहेका बाँकी कुखुरा सोमबार नष्ट गर्ने निर्णय भएको जनाइएको छ ।
बैठकको निर्णयपछि बर्डफ्लु फैलिएको फार्ममा रहेका पंक्षीजन्य वस्तु नष्ट गर्न प्राविधिक टोली परिचालन गरिएको भेटनरी अस्पताल विराटनगरका डा. सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो । ग्रामथान–१ खुनियाकट्टामा रहेको महेन्द्र खड्काले सञ्चालन गरेको काब्या कृषि फार्ममा रहेका करिब ३ हजार ५ सय लेयर्स मरेपछि नमूना परीक्षणका लागि विराटनगरस्थित पशुपंक्षी रोग प्रयोगशालामा पठाइएको थियो । त्यहाँ नमुना जाँच गर्दा बर्डफ्लु पोजेटिभ पुष्टि भएपछि पुनः नमुनाहरूलाई काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो ।
नेपाल समाचारपत्र
प्रतिक्रिया दिनुहोस्