Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


नयाँ प्रहरी महानिरीक्षकका चुनौती


0
Shares

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)

काठमाडौं, फागुन ५ । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवालीको नियुक्तिसँगै प्रहरी संगठनको चुनौती र प्राथमिकताहरुबारे छलफल सुरु भएको छ ।

पूर्वप्रहरी अधिकृतहरुले नयाँ ‘आइजीपी’का तीनओटा चुनौती रहेको बताएका छन् भने ज्ञवालीले प्राथमिकताका आधारमा काम गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली कामको चापमा छन् । मुख्यतः पाँचमहिने कार्यकालमा प्रहरी संगठनभित्रका के–कस्ता चुनौती कसरी समाधान गर्ने र के छाप छोडेर जाने भन्ने चिन्ता उनमा देखिनु स्वाभाविक हो ।

प्रहरी समायोजन, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको छिनोफानो र प्रहरी संगठनलाई राजनीतिक गोटी बन्न नदिने चुनौती नयाँ प्रहरी महानिरीक्षकको सामु रहेको ठान्छन्, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विजय कायस्थ ।

पूर्वप्रहरी अधिकृतहरुले देखेका प्रहरी संगठनका चुनौतीहरुबारे नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवाली पनि जानकार छन् ।

उनको पहिलो प्राथमिकतामा निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छिनोफानो परेको छ ।

प्रहरी संगठनभित्रको सरुवा–बढुवा, प्रहरी समायोजन र कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण पनि प्रहरी नेतृत्वका चुनौती हुन् ।

निश्चित नीति र नियमका आधारमा चल्ने संगठनको तोकिएको दायित्व पूरा गर्न नेतृत्व सधैं तयार रहनु पर्दछ ।

अझ प्रहरी संगठनले हरेक क्षण आउन सक्ने चुनौती सम्बोधन गर्दै मुलुकमा शान्ति–सुव्यवस्था कायम भएको अनुभूति दिलाउन सक्नु पर्दछ ।

भिडियो हेर्नुहोस्