Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


रसुवा गढीनाकाबाट खाद्य सामग्रीको आयात बढ्यो


143
Shares

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात गत आर्थिक बर्षको छ महिनाको तुलनामा तीन गुनाले बढेको छ ।

गत आर्थिक वर्षको पुस मसान्त सम्ममा चौवालीस टन मात्र खाद्य सामग्रीको आयात भएकोमा चालू आर्थिक वर्षको ६ महिनामा एक सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको हो ।

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रसुवाको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७७/७८ को पुस मसान्त सम्ममा ४४ टन मात्र खाद्य सामग्रीको आयात भएकोमा चालू आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा एक सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।

फूल तथा सागपात जन्य ४८ दशमलब ५ टन, खाद्यान्न दलहन तथा अन्य १७ दशमलब ६ टन, मसलाजन्य १३ दशमलब ८ र मासुुजन्य २ दशमलब चार दुधजन्य एक दशमलब छ आयात भएको छ । त्यस्तै चियाजन्य सात दशमलब चार टन, माछाको अचार चौध दशमलब चार टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका अठाईस टन खाद्य सामग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रसुवाले जनाएको छ । नाकाबाट खाद्यान्न दाहाल तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

अहिले एकद्वार प्रणाली लागू भए पछि इर्पोट पर्मिट नलिएकाहरुको सिष्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको संख्या पनि उत्तिकै बढेको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रसुवाले जनाएको छ ।