किन स्थानीय चुनाव सार्न र टार्न खोजिदैछ ? « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


किन स्थानीय चुनाव सार्न र टार्न खोजिदैछ ?


286
Shares

संसारका आदर्श राजनीतिज्ञ नेल्सन मण्डेला सरल भाषामा सगौरव भन्छन् –‘सबैका लागि काम, रोटी, पानी र नुन होस् । यो भनाइमा सर्वजन हिताय र सर्वजन सुखायको अभिव्यक्ति लुकेर रहेको छ ।

संसारका धेरै कम राजनीतिज्ञहरूले मात्र देश र जनताका लागि राजनीति गर्दा भलो चिताएका हुन्छन् । अझ अहिलेका समयमा त सयमा ३ प्रतिशत पनि त्यस्ता नेताहरू पाउन मुस्किल हुन्छ । यो कुरा देश तथा विदेशको इतिहास पढेको खण्डमा बुझ्न सकिन्छ ।

अहिलेको पाँच दलीय गठबन्धनलाई युवा विश्लेषक सञ्जीव कार्कीले आफ्नो तार्किक अभिमत मार्फत हाकाहाकी प्रश्न उठाएका छन् । बास्तवमा अहिले नेपालमा जसले देशको वागडोर सम्हालेर सत्ताको भोग गर्न पाएको छ उसैले आफूलाई महान लोकतन्त्रवादी देखाएर/भँजाएर बाँकी सबैलाई पत्रु सावित गर्ने कुसंस्कारको विकास भैरहेको छ । प्रबुद्ध तथा जानकार व्यक्तिहरूका विचारका आधारमा भन्दा यो शैलीले नेपालको लोकतान्त्रिक आकासमा लागेको घाम क्रमशः धुमिल हुँदै गएको देखिन्छ । जसले सुदूर यात्रामा लोकतन्त्र कतै धूमिल पो हुने हो कि ? यस्ता प्रश्नहरूसमेत यदाकदा गुञ्जिने गरेका छन् ।

उनी अझ अघि भन्छन् –‘सदन नभएको र चुनाव गराएर सदन जिवित पारी माओवादीलाई शान्तिमा ल्याउने कोसिसमा कस्ले अवरोध गरेको ? माओवादी या अरु दल या राजा या दिल्ली ? यदि राजाले बेच्न खोजेको भए के दिल्लीले सात दलले बाह्र बुँदे किनबेच करारपत्र प्रचण्ड गिरिजाहरूसँग गर्थे ? पाँच राजा एक प्राइम मिनिस्टरको नाम मैले लिएको व्यक्तिको महत्व देखाउन भन्दा यिनैको समय दक्षिणको कारण देश रहने या नरहने विन्दुमा पुगेको थियो । तर देश रह्यो यिनैका कारण । त्रिभुवनमाथि अप्रमाणित आरोप लगाइए पनि त्रिभुवन र काँग्रेसको सहकार्यमै राणा कमजोर परेको हो । मोहन शमशेरले यो भन्दा गुलामी सन्धि गर्न सम्भव थियो ? तसर्थ रेणुजीले चोरको खुट्टा काट नभनेको अवस्थामा किन यो प्रसङ्ग ल्याएको ?’

बौद्धिक पोष्ट गरिरहन रुचाउने पूर्व शिक्षक नेता केशवप्रसाद भट्टराई लेख्छन् –‘हामी चुनावलाई सकेसम्म छलेर, छेकेर, पछाडि धकेलेर, चुनाव हुने वातावरण नै बन्न नदिएर महान गणतान्त्रिक लोकतन्त्रको रक्षा गर्र्दैैछौं ।’ भट्टाराईले यति छोटो फेसबुक स्टाटसमै देशको वर्तमान परिस्थितिको सटिक विश्लेषण गरेर सकिदिएका छन् ।

पोखराबाट विश्व सिग्देल लेख्छन् – ‘समाजवाद उन्मुख संविधान । बीपी कोइराला, माक्र्स, लेलिन र माओका औरस पुत्रहरूको सरकार ……? तँ गरिबले तिरेको कर, तँ गरिबको थाप्लोमा समेत लादिएको दामासाही विदेशको ऋणबाट हामी नेताहरू विदेशमा उपचार गर्ने हो । त्यही कर र ऋणबाट जागिर खाने सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामति कर्मचारी र अब त शिक्षकलाई पनि नाम मात्रको शुल्कमा अस्पताल । तँ गरिबलाई पनि दिन्न जा ……। सिटामोल निल्न पुर्पुरोमा लेखेर आउनु पर्छ ।’

एकजना विमाका एजेन्ट देशले अहिले व्यापारमा आयात प्रतिस्थापन गर्न नसिकरहेको अवस्थालाई चित्रण गर्दै भन्छन् –‘६ महिनामै ४२ अर्ब रुपैयाँको खाद्यान्न भित्रियो, साढे ३४ अर्बको तरकारी र फलफूल भित्रियो । पैसा जति तेस्रो देश पठाएपछि नेपालको बजारमा आर्थिक मन्दी लाग्ने नै भयो ।’ समाज र देश कसरी चल्ने चिन्ता उनले गरेका छन् । यति पनि चिन्ता हाम्रा नेता महोदयहरूमा छैन । कठै ! अनि कसरी बन्छ देश ?
वरिष्ठ पत्रकार तथा सञ्चारकर्मी जीवराम भण्डारी भन्छन् –‘नेपालमा लोकतान्त्रिक गणतन्त्र सफल भएछ ? ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्ट्राचार गर्ने ११७ औं भ्रष्ट देशमा परेछ । १८० को देशको अध्ययन गर्दा नेपालले ३३ अंक पो पाएछ । सुडानलाई जितेछ । सरदर भन्दा पनि धेरै भ्रष्टाचार हुने देशमा परेछ । जुन देशमा जनताका अधिकार कमजोर छ, त्यो देशमा भ्रष्टाचार बढी हुन्छ । कुरा आफैँ बुझ्नुपर्छ ।’ उनले पनि इङ्गित गर्न खोजेको कुरा अहिले पाँच दलीय गठबन्धनले अघि गर्नु पर्ने चुनाव पछि सारेर र पछि गर्नु पर्ने चुनाव अघि ल्याएर गर्न खोजेको कुरालाई व्यङ्ग्य हान्न खोजेको हो ।

झट्ट हेर्दा चुनाव अघि र पछि गर्दा के होलाजस्तो देखिए पनि त्यसले सिष्टमको विकासमा आकास पताल असर गर्छ । अहिले पाँच दलका नेताहरू हिजो अघिल्लो स्थानीय तहको चुनाव तीन चरणमा गरिएको थियो । सोमध्ये सबैभन्दा पछिल्लो चरणमा गरिएको चुनावको हेक्का राख्दै त्यसैबाट सबैभन्दा पछिल्लो चरणमा गरिएको २०७४ असोजको चरणको चुनावलाई हिसाब गरेर २०७९ असोज÷कार्तिकमा लैजाऊँ भन्दैछन् । उनीहरूले देखेका छन् यसैगरी आफूहरूको गठबन्धन रहिरह्यो भने नेकपा खमाले’( बजारमा अहिले एमालेलाई खड्ग एमाले भनिँदो रहेछ) । त्यसैको छोटकरी रूप हो । ‘खमाले’ लाई सजिलै धूलो चटाउन सकिन्छ ।

जब संघीय चुनावमै धूलो चटाइन्छ अनि त्यसपछि आफू अनुकूलमा गरिने स्थानीय तहको चुनावमा झन् सजिलै आफ्नो सिट सुरक्षित गर्न आसान हुन्छ भन्ने सोचिरहेका छन् । जबकि २०७९ जेठ ६ गते पछि स्थानीय निकायहरू खालि हुँदा के गर्ने भन्नेमा संविधान मौन रहेको छ भनेर कानुनका ज्ञाताहरू भनिरहेकै छन् । के हो के हो ?

‘घिउ बेचुवा र तरबार बेचुवा’ को जस्तो यो पाँच दलीय गठबन्धन कुनै पनि बेला कुनै पनि सर्त नमान्दा टुट्न सक्छ । यो अहिलेका विभिन्न गतिविधिहरू देख्दैमा अनुमान गर्न सकिन्छ । निर्वाचन आयोग समेत अहिले सरकारको लाचार छायाँजस्तो देखिएको छ । उसले सर्वदलीय बैठक राखेर मसक्क आँट गर्ने हो भने कुनै पनि ठालु पार्टीको केही जोर लाग्दैन ।

चर्चित पत्रकार संकेत कोइराला आफ्नो लेखमा सारभूत रूपमा लेख्छन् –‘यदि राजनीतिभित्र अपराध र दलाली फस्टाएको हुँदैनथ्यो भने यतिबेला पुष्पकमल दहाल, शेरबहादुर देउवा, केपी ओलीले लगाएका भादगाउँले टोपी ‘प्रसाद’ मानेर लाउनेहरूको भीड लाग्थ्यो होला । रोल्पामा भूमिगत हुँदा प्रचण्डले भात खाएको त्यो सिल्भरे थाल यतिखेर संग्रहालयमा हुन्थ्यो । त्यस्तै फौजी पोसाक किन्न मोल लाउनेहरूको लडाइँ चल्थ्यो होला । देउवा र ओलीको जीवनी पढ्न अहिले टिनेज पुस्ताको ताँती हुन्थ्यो । तर विडम्बना देशको सफल मेनेजर भएर छोरा पुस्तालाई देशको कार्यभार सुम्पनुपर्ने बेला छोराको जवानी समेत पैँचो लिई भोग विलास गर्ने पात्र यतिखेर सत्तामा छन् ।’ त्यसैले यो देशको भविष्य नेताले खरानी बनाएका हुन् ।

जोजो जेजे भए पनि लोकतन्त्रको नम्र्सलाई चुनावको माध्यमबाट मर्न दिनु हुँदैन भन्ने बोली अहिले देशैभरि विभिन्न तह र तप्कामा बलियो भएर आउँदै छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो ।