अझै पुगेन डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


अझै पुगेन डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत


195
Shares

कैलाली । मुलुकका सबै नागरिकको घरघरमा विद्युुत पुर्‍याउने नेताहरुका आश्वासन अझै पुरा भएका छैनन् । एउटा उदाहरण हो, डोटी जिल्लाको बडिकेदार गाउँपालिका । डोटीको विकट स्थानीय तहका रुपमा चिनिने बडिकेदार गाउँपालिकामा विद्युुत नहुँदा दैनिकी चलाउनदेखि सञ्चार सेवा समेत अवरुद्ध हुँदै आएको छ ।

डोटीको बडिकेदार गाउँपालिकामा विद्युुत पुग्न नसक्दा यहाँका नागरिक सोलारकै उज्यालोको भर पर्ने गरेका छन् । वषौंदेखि बिजुली बाल्ने यहाँका बासिन्दाको सपना अझै पुरा हुन सकेको छैन । विद्युुत नहुँदा नेटवर्कको समस्या झन बढी छ । विद्युुत नभएकै कारण फोन गर्न पनि घाम कुर्नुपर्ने बाध्यता छ ।

सोलारबाटै सञ्चालित बडिकेदार गाउँपालिका वडा नम्बर– ५ अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरले पनि घाम लागेपछि मात्रै काम गर्ने गर्छ । घाम नलागेको दिन नेटवर्कले काम नगर्दा सबैभन्दा बढी समस्या यहाँका नागरिकलाई पर्छ । कुटानी, पिसानीदेखि अन्य दैनिकी चलाउन पनि विद्युत अभावले उत्तिकै समस्या छ ।

विद्युत नहुँदा बडिकेदारका नागरिकलाई दैनिकी चलाउन मात्रै समस्या नभई प्रशासनिक काममा पनि निकै बाधा पुग्ने गरेको छ । लगातार पानी परे वा घाम नलागे काम नै ठप्प गर्नुपर्ने अवस्था रहेको स्थानीय जोगराज पाण्डेयको भनाइ छ ।

विद्युुत नभएकै कारण ठुला–ठुला काममा निकै बाधा पुगेको गाउँपालिकाको दावी छ । विद्युुत बिस्तारका लागि वषौं अघि ठेक्का सम्झौता भए पनि ठेकेदारले विस्तार नगर्दा हालसम्म विद्युत नपुगेको गाउँपालिकाले जनाएको छ । ठेकेदारकै लापरवाहीका कारण विद्युुत नपुगेको भन्दै गाउँपालिकाले विद्युत कार्यालयलाई ध्यानाकर्षण गराएको बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहराले बताउनुभयो ।

विकासका चर्का नारा र भाषणमा मात्रै सिमित यस्ता समस्या समाधानमा राजनितिक दलसँगै सम्बन्धित कार्यालयको ध्यान जान जरुरी छ । विद्युत बिस्तारका लागि ठेक्का सम्झौता गरी काम अलपत्र छोड्ने ठेकेदारलाई कारवाही गरी तुरुन्तै काम अगाडी बढाउन स्थानीयले विद्युत कार्यालय डोटीलाई ध्यानाकर्षण गराएका छन् ।