अक्कल कुँवर र नवीन स्थापित (इमेज)
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्षमा गरेका कामबारे सदनलाई जानकारी गराएलगत्तै प्रतिनिधिसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ९ को व्यवस्थाअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको लागि समय दिए ।
सभामुखले प्रश्नोत्तर सुरु गरेपछि दुई दर्जन बढी सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीलाई प्रश्न राखेका थिए ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत क्षेत्रको सीमा विवादबारे सरकारले के गरिरहेको छ ?’ भनेर प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले सीमा विवाद समाधान गर्न र मिचिएको नेपाली भू–भाग फिर्ता गर्न सरकारले पहल गरिरहेको बताए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले ‘एमसीसी’बारे प्रधानमन्त्रीको धारणा माग गरे ।
जवाफमा प्रधानमन्त्रीले सदनबाट एमसीसी पारित हुने बताए ।
समाजवादी पार्टीका सांसद सरिता गिरी र राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले ‘संविधान संशोधन कहिले हुन्छ ?’ भन्दै प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताए ।
नेमकिपाका सांसद प्रेम सुवालले ‘चीनबाट आउने विद्यार्थीको लागि उपत्यकाबाहिर ‘क्वारेन्टाइन’को व्यवस्था नगरेर किन भक्तपुरमा गरेको ?’ भन्दै प्रश्न गरे ।
जवाफमा प्रधानमन्त्री ओलीले सोच–विचार गरेरै भक्तपुर रोजेको बताए ।
कांग्रेसकै सांसद रामबहादुर बिष्ट र डिला संग्रौलाले ‘सरकार बलियो कि व्यापारिक समूह यती बलियो ?’ भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको जग्गा कानुनसम्मतरुपले नै यतीलाई दिएको बताए ।
यस्तै, सांसदहरुले ललिता निवास जग्गा प्रकरण, आन्तरिक तथा बाह्य लगानी, मन्त्रिपरिषद्मा महिला सहभागितालगायतका विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए ।









प्रतिक्रिया दिनुहोस्