Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


सोलार ऊर्जा खरिद दर प्रतिस्पर्धाबाट हुने


234
Shares

काठमाडौं, माघ १० । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत् प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) अब प्रतिस्र्धाबाट गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ । सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताउनुभयो ।

अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत् आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिने छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग १ सय १० मेगावाटको पीपीए गरेको छ । यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ ।