Logo १५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026


वालिङ नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार र खानाको व्यवस्था


403
Shares

स्याङजा, माघ ८ । स्याङजाको वालिङ नगरपालिकाले कोभिड–१९ को परीक्षण, संक्रमितलाई भोजन तथा औषधि निःशुल्क गरेको छ ।

नगरपालिकाले वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड–१९ सङ्क्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।

कोभिडको संक्रमण दर बढ्दै जाँदा नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा ५० शय्यासहित अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य उपकरणहरु र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा ७ जना संक्रमितको भर्ना गरेर उपचार भइरहेको छ । गह्रौँ प्राथमिक अस्पतालमा खोप लगाउने कार्य जारी रहेकाले खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउनका लागि नगरपालिकाले माइकिङ गर्दै आइरहेको छ ।