‘जनयुद्ध’लाई पूर्वएमाले पंक्तिले स्वीकार्न नसकेको संकेत - Image Khabar
Everest Bank

‘जनयुद्ध’लाई पूर्वएमाले पंक्तिले स्वीकार्न नसकेको संकेत

अक्कल कुँवर (इमेज)

काठमाडौं, फागुन १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र माओवादी घटकहरुले बिहीबार २५औं ‘जनयुद्ध’ दिवस मनाएका छन् ।

जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहालले तत्कालीन एमालेसँग २०७५ जेठ ३ गते पार्टी एकता गरेर नेकपा गठन गरेपनि पार्टी एकताको झण्डै दुई वर्ष पुग्नैलाग्दासमेत जनयुद्धलाई हेर्ने दृष्टिकोणमा अझै एकरुपता हुन सकेको छैन ।

जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि जनयुद्धलाई हेर्ने दृष्टिकोण नेकपाभित्र अझै सर्वमान्य हुन नसकेको विश्लेषण गरिएको छ ।

२५औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सम्बोधन गर्ने प्रचार गरिएको थियो । तर, अध्यक्ष ओली सहभागी भएनन् ।

ओलीको सचिवालयले कार्यव्यस्तता वा अस्वस्थताका कारण उपस्थित हुन नसकेको जनाएपनि ‘जनयुद्ध’ व्यानरमा अध्यक्ष ओली सहभागी नभएको यो पहिलो कार्यक्रम भने होइन ।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पार्टी एकतापछि पार्टीले आयोजना गरेको प्रायजसो कार्यक्रममा सहभागी हुने गरेका छन् ।

विक्रम संवत् २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले देशका चार जिल्लामा एकैसाथ आक्रमण गरेर सशस्त्र द्वन्द्वको सुरुआत गरेको थियो ।

तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा उक्त कार्यनीतिप्रति तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओली कटु आलोचक थिए ।

तर, समयक्रमसँगै ओलीकै नेतृत्वमा तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते पार्टी एकता भयो ।

पार्टी एकता भएको दुई वर्ष पुग्नै लाग्दा पनि पूर्वएमाले र माओवादीबीच जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता आउन सकेको छैन ।

अध्यक्ष ओलीमात्र होइन, नेकपाभित्र जनयुद्ध दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा पूर्वएमाले खेमाका कार्यकर्ताहरुको खासै सहभागिता देखिँदैन ।

यी घटनाले के देखिन्छ भने पार्टी एकता भएपनि पूर्वएमालेको ठूलो पंक्तिले अझै जनयुद्ध स्वीकार गर्न सकिरहेको छैन ।

त्यसो त एकता प्रक्रियाको समयमा एकीकृत पार्टीको अन्तरिम विधानमा जनयुद्ध राख्ने विषयमा ठूलो रस्साकस्सी भएको थियो ।

कुनै कार्यक्रममा उपस्थित भएपनि नभएपनि निष्कर्ष के हो भने पार्टी एकताका बेला जनयुद्धलाई स्वीकार गरिसकेको हुनाले त्यसको जस–अपजसमा एकीकृत पार्टी र त्यसका सबै नेताले लिनुपर्ने हुन्छ ।

उता, एकै ठाउँमा बसेर जनयुद्ध सञ्चालनको योजना, रणनीति र सुरुआत गर्ने नेताहरु भने छिन्नभिन्न छन् ।

जनयुद्धका कमाण्डर प्रचण्डका राजनीतिक गुरु भनेर चिनिने मोहन वैद्य नेकपा क्रान्तिकारी नामको पार्टीको नेतृत्व गरिरहेका छन् ।

जनयुद्धका मुख्य रणनीतिकारका रुपमा चिनिएका डा. बाबुराम भट्टराई समाजवादी नामको पार्टीका संघीय अध्यक्ष छन् ।

जनयुद्धको समयमा प्रचण्डको उत्तराधिकारीको रुपमा चर्चा गरिने नेत्रविक्रम चन्द नेकपा नामको पार्टी खोलेर भूमिगत गतिविधि सञ्चालन गरिरहेका छन् भने कुनै समयका प्रचण्डका विश्वासपात्र गोपाल किराँती माओवादी केन्द्र व्युँताउन सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्