बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रमः एक वडा एक पशु स्वास्थ्यकर्मी « Imagekhabar – Online News Portal of Nepal


बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रमः एक वडा एक पशु स्वास्थ्यकर्मी


169
Shares

हेटौंडा । बागमती प्रदेशमा पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको छ ।

स्थानीय तहको वडासम्मनै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लगायत पशुपन्छी क्षेत्रको विकासका लागि एक वडा एक पशु स्वास्थ्यकर्मी कार्यक्रम प्रदेशको साझा न्यूनतम कार्यक्रम भित्र अटाएको छ ।

यस कार्यक्रमबाट व्यवसायिक पशुपन्छीपालनको आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशुमा लाग्ने रोगहरुको न्यूनिकरण र निराकरण गर्न सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले बताउनुभयो ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यही पुस १४ गतेका दिन प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरणको लागि ५१ बुँदे मार्गचित्र सार्वजनिक गरेको थियो । सो मार्गचित्रमा पशु स्वास्थ तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसगँको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक सञ्चालनमा जोड दिईएको थियो । नेपाल सरकारले पशु स्वास्थ्य सेवालाई अत्यावश्यक सेवाको रुपमा घोषणा गरेको सन्दर्भमा मन्त्रालय एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनामा लागेको हो ।

मन्त्रालयले पशुरपन्छीजन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागि स्थानीय तहसगँको समन्वयमा सम्बन्धित वडाहरुमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि सम्बन्धित स्थानीय तहसगँ समन्वय गरि वडाहरु प्रस्ताव गर्न मन्त्रालयले आफ्ना मातहतका कार्यालयहरुलाई परिपत्र गरिसकेको सचिव डा. पाण्डेले बताउनुभयो ।

मन्त्रालयले प्रारम्भिकमा वडाहरु प्रस्तावको लागि पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपन्छी पालनको घनत्व भएको क्षेत्र आदिको आधारमा वडाहरु प्रस्ताव गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।