२५ मंसिर २०८०, सोमबार | Mon Dec 11 2023


मुख्य सहर संक्रमणको हटस्पट


1.365k
Shares

काठमाडौं । कोरोना भाइरस फेरि द्रुत गतिमा फैलिन थालेको छ। यसको संक्रमण देशव्यापी देखिएको छ । सीमावर्ती सहर र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ। देशभर मंगलबार २२ हजार ८ सय २८ नमुना परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । यो नै पछिल्लो समयको सबैभन्दा उच्च दैनिक संक्रमण हो ।

परीक्षण गरेकामध्ये झन्डै ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । यससँगै मृत्युदर पनि सुरु भएको छ। मंगलबार एक जनाले ज्यान गुमाएका छन् । बढ्दो सहरकेन्द्रित संक्रमणले गाउँमा पनि फैलिने जोखिम देखिएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। पुस दोस्रो सातासम्म संक्रमणदर दुई प्रतिशत हाराहारी थियो । मंगलबार संक्रमणदर ४४.९ प्रतिशत पुगेको छ । ‘संक्रमित दैनिक बढेका छन्। संक्रमणदर पछिल्लो समय उच्च छ’, प्रवक्ता डा. मिश्राले भनिन्, ‘यो दर अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’

उपत्यकामा दिनहुँ दोब्बर संक्रमित
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको डा. मिश्राको भनाइ छ । मंगलबार काठमाडौंमा मात्रै ४ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा दोब्बर बढी हो। ललितपुरमा ९ सय ४७ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

तीन साता जोखिमपूर्ण
आगामी तीन साता संक्रमणको हिसाबले जोखिमपूर्ण हुने स्वाथ्यविज्ञ बताउँछन्। दैनिक संक्रमित २० हजार ५ सय नाघ्ने मन्त्रालयका सचिव डा. रोशन पोखरेलको आकलन छ । ‘माघ दोस्रो सातादेखि तेस्रो सातासम्म संक्रमणदर अझै बढ्छ । आगामी तीन साता जोखिपूर्ण छ’, सचिव डा. पोखरेलेले भने । उनका अनुसार डब्लूएचओ र स्वास्थ्यका विभिन्न ‘टुल’ प्रयोग गरी संक्रमण फैलावटको अनुमान गर्ने गरिएको छ । मन्त्रालयका अनुसार सबै जिल्लामा सक्रिय संक्रमित छन् ।

उपत्यका बाहिरका मोरङ, सुनसरी, कास्की, रुपन्देही र कैलाली जोखिमको सूचीमा परेका छन् । यी जिल्लामा ५ सयभन्दा माथि संक्रमित अस्पताल भर्ना भएका छन् । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार भाइरसको संक्रमण सीमावर्ती सहरकेन्द्रित भइरहेको छ । शैक्षिक एवं स्वास्थ्य उपचारको केन्द्र भएका सहरी क्षेत्रमा आवतजावत बढी भएकाले नै संक्रमण विस्तार भइरहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जीडी ठाकुर स्वास्थ्य मापदण्डको पालनामा हेलचक्र्याइँ भएका कारण नै सहरी क्षेत्रमा संक्रमण बढ्दै गएको बताउँछन् ।

अन्नपूर्ण पोस्ट्