Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


१५ सय वर्ष पुरानो हितिमा डोजर (भिडियो)


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, माघ २९ । भनिन्छ–‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड’ । अहिले मुलुकका अधिकांश पुरातात्विक महत्वका धरोहर यस्तै मानसिकताको शिकार बनिरहेका छन् । त्यसैको एउटा उदाहरण हो, हाँडीगाउँमा रहेको १५ सय वर्ष पुरानो हिति ।

ठेकदारले स्थानीय सरकार तथा सरोकारवालासँग समन्वय नगरी उक्त हिति भत्काएपछि अहिले सम्पदाप्रेमीहरु आन्दोलित छन् ।

नरदेय् अर्थात् हाँडीगाउँ । लिच्छविकालको विकसित सहर । जसको वैभवको चर्चा तत्कालीन चिनियाँ यात्रीहरुलेसमेत गरेका थिए ।

हजारौं वर्षअघि नै विश्व मानव सभ्यतालाई चकित पारेको यो सहर अहिले गुमनाममा छ । यहाँ रहेका थुप्रै बहुमूल्य उत्कृष्ट मौलिक सम्पदाहरु कंक्रिटको महलले घेरिएका छन् । कैलाशकुट भवन र मानगृहको अस्तित्व एकादेशको कथा बनिसकेको छ ।

यस्तै पृष्ठभूमिमा राजा शिवदेवको पालामा १५ सय वर्षपहिले बनेको न्यारा हितिको मौलिकता अहिले पुनःनिमार्णका नाममा मासिएको छ ।

स्थानीय तहमा समन्वय नगरी जीर्णोद्धार गर्न खोज्दा हितिको अस्तित्व नामेट हुन लागेको छ ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले यो हिति पुनःनिर्माण प्रक्रिया अघि बढाउँदासमेत सम्बन्धित वडासँग समन्वय गरेन । ठेकेदारसँग ठेक्का सम्झौता भयो ।

ठेकेदार पनि के कम, ठेक्का पाउनेवित्तिकै ऐतिहासिक हिति रहेको स्थानमा डोजर कुदाइयो । हिति उप्काउने, पर्खाल भत्काउने र मूर्तिमा क्षति पुर्‍याउने काम भयो ।

ठेकदारले पुनःनिर्माणका नाममा सामान्य विवेक नपुर्‍याइ सम्पदा क्षेत्रमा डोजर लगाउँदा हजारौं वर्ष पुरानो पुरातात्विक तथा ऐतिहासिक महत्वको सम्पदा संरचना नष्ट भयो ।

चारैतिरबाट विरोध हुन थालेपछि हिति सम्पदा बचाउ अभियन्ताहरु वडा कार्यालय घेर्न पुगे । अभियन्ताहरु सम्पदा मास्नेविरुद्ध कारवाही हुनपर्ने माग गरिरहेका छन् ।

वडा कार्यालयले हिति क्षेत्रमा भइरहेको काम तत्काल रोक्न र ठेकेदारलाई कारवाही माग गर्दै विभागलाई पत्र काटिसकेको छ ।

तर, काठमाडौं उपत्यकाको सबैभन्दा प्राचीन सहर हाँडीगाउँमा रहेको हजारौं वर्ष पुरानो हितिमा क्षति भने पुगिसकेको छ ।

उता, यस्ता सम्पदा संरक्षणमा अग्रसरता देखाउनुपर्ने पुरातत्व विभाग भने अझै बेखबर छ ।

वडाध्यक्ष रमेश डंगोल हिति पुनःनिर्माणका लागि ठेकेदारसँग भएको सम्झौता र डोजर लगाएको विषयमै अनभिज्ञता व्यक्त गर्छन् ।

नेपालको विद्यमान कानुनअनुसार यस्ता पुरातात्विक सम्पदा नष्ट गर्नु, चोरी गर्नु तथा क्षति पुर्‍याउनु अपराध हो । यो अवस्थामा हजारौं वर्ष पुरानो हितिमा डोजर लगाउनेविरुद्ध अब कस्तो कारवाही हुन्छ त ? यो महत्वपूर्ण प्रश्न हो ।

भिडियो हेर्नुहोस्