रोमन आचार्य र उत्तम मानन्धर (इमेज)
काठमाडौं, माघ २८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को म्याद सकिएको एक वर्ष बितेको छ ।
राजनीतिक दलका भातृसंस्थाहरुबीचको द्वन्द्व र स्वार्थका कारण स्ववियु निर्वाचन फेरि अनिश्चित बन्दै गएको छ । यसमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी पनि उत्तिकै दोषी देखिन्छन् ।
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन स्वार्थकेन्द्रित बनिदिँदा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
अखिल अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघबीच सहमति नहुँदा फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचन टर्न लागेको हो ।
हरेक दुई/दुई वर्षमा स्ववियु निर्वाचन सम्पन्न गर्ने नियम त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले कार्यान्वयन नगरेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्दै आएका छन् ।
दुवै संगठनले यसबीचमा निर्वाचनको तयारी गरेका थिएनन् । विद्यार्थी संगठनहरुबीच घोषित निर्वाचन नगर्ने सहमति बनेको छ ।
निर्वाचनको मिति तय गर्दा त्रिवि पदाधिकारीहरुले पर्याप्त छलफल र सहमति नजुटाएका कारण स्ववियु निर्वाचन प्रभावित हुन लागेको तर्क गर्न थालिएको छ ।
त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले स्ववियु निर्वाचनको मुख्य जिम्मेवारी रहने पद रेक्टर नियुक्तिमा विलम्ब गर्दा चुनाव प्रभावित हुन लागेको नेविसंघ महामन्त्री उर्मिला थपलिया बताउँछिन् ।
अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङ थपलियासँग सहमत छैनन् ।
पछिल्लो समय विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर र व्यवस्थापनबारे अनेक कोणबाट प्रश्नहरु उठेका छन् ।
विश्वविद्यालयका पदाधिकारीहरुको कमजोरीका कारण त्यस्तो स्थिति देखिएपनि यसमा विद्यार्थी संगठनहरु पनि दोषमुक्त छैनन् ।
घोषित मितिमै स्ववियु निर्वाचनमा भाग लिन अनेरास्ववियु र नेविसंघले खासै तयारी गरिरहेका थिएनन् ।
विद्यार्थी संगठनहरुको स्वार्थ र शैक्षिक मुद्दाको साटो आफ्नो माउ पार्टीको राजनीतिक हतियार बन्ने प्रचलन बढ्दै जाँदा स्ववियुको औचित्यमै प्रश्न उठ्न थालेको छ ।
समयमै स्ववियु निर्वाचन नहुँदा स्ववियुप्रति झन् नकारात्मक धारणाहरु बढ्नै जानेतर्फ सचेत रहनु पर्दछ ।









प्रतिक्रिया दिनुहोस्