
खिलनाथ ताजपुरिया र विनोद बजगाइँ (इमेज)
काठमाडौं, माघ २८ । फागुन १४ गतेका लागि निर्धारित् स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नहुने पक्का–पक्की भएको छ ।
निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयको तयारी, परीक्षा तालिका र ठूला विद्यार्थी संगठनहरुबीच सहमति नजुटेकाले निर्वाचन असम्भव देखिएको हो ।
त्रिभुवन विश्वविद्यालयले बारम्बार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तय गर्ने र अन्त्यमा विभिन्न कारण देखाउँदै सार्ने गरिएको यो पहिलोपटक होइन ।
विगतको रोग यसपटकको घोषित स्ववियु निर्वाचनमा पनि देखिएको छ । एक वर्षपहिले नै हुनुपर्ने निर्वाचन फागुन १४ गतेका लागि तय गरिएको थियो ।
तर, त्रिभुवन विश्वविद्यालय घोषित निर्वाचन गर्न नसकिने निष्कर्षमा पुगेको छ ।
निर्वाचन तालिकासमेत सार्वजनिक नगरिएबाट निर्वाचन तोकिएको मितिमा नहुने निश्चित भएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्ववियुका लागि तयारी गरिरहेको थिएन । त्यसबाहेक केन्द्रीय निर्वाचन समितिको अध्यक्ष नियुक्ति, परीक्षा तालिका र निर्वाचनमा भाग लिने विद्यार्थी संगठनहरुबीचको किचलोलाई देखाएर स्ववियु निर्वाचन सार्न खोजिएको देखिन्छ ।
यसअघि, २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचित स्ववियुहरुको दुईवर्षे कार्यकाल सकिएको लामो समय भइसकेको छ । र, पनि स्ववियुलाई तदर्थवादमा चलाउने त्रिभुवन विश्वविद्यालय व्यवस्थापनको कार्यशैलीलाई जायज मान्न सकिँदैन ।
फागुन १४ गते स्ववियु निर्वाचन हुन नसके कहिले गर्ने भन्ने यकिन छैन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको निर्णयहीनताका कारण स्ववियु निर्वाचन झनै अन्योलग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्