एक माघले जाडो कहाँ जान्छ र ? « Image Khabar


एक माघले जाडो कहाँ जान्छ र ?


364
Shares


‘उहिलेका कुरा खुइली हाले कोही सुन्दैनन्, अहिलेका कुरा सबैलाई थाहा छ सुनाउनै पर्दैन !’ यो पुरानो नेपाली उखान हो । यसलाई वृहत् व्याख्याको जरूरतै छैन । हिजोको स्वर्णीम् विगतलाई अहिलेको झुर वर्तमानले सम्मान गर्न त जानेन जानेन, इतिहासलाई इतिहासको मर्यादामा रहन समेत दिएन भन्ने अर्थ निकाल्न सकिन्छ । अतः यसले पुराना र नयाँ पुस्ताकाबारे दह्रो कहिरन हाल्छ र भन्छ –सभ्यता, संस्कृति र हाम्रा इतिहासका अनेकन उल्लिखित अनुल्लिखित पाटा र पात्रहरूका बारेमा ।

पछिल्लो समय पुस २७ याने पृथ्वी जयन्तीका बारेमा विभिन्न प्रकारका नकारात्मक र सकारात्मक टीका टिप्पणीहरू चल्ने गरेका छन् । कोही पृथ्वीनारायण शाहलाई देउताझैँ गरी आरती उतारिरहेका छन् भने कोही कोहीचाहिँ दानवझैँ सत्तोसराप गरिरहेका छन् । लाग्छ दुवै आफ्ना सूरमा धुत छन् ।तर यी दुवै अतिवादी हुन् । पृथ्वीनारायण शाह न त देउता थिए न दानवै । उनी त तपाईं हामीजस्तै सामान्य मानव थिए । फरक यति मात्र हो कि उनले नेपाल राज्यको एकीकरण गरेर हामीलाई आज विश्व रङ्गमञ्चमा सार्वभौम नागरिकको रूपमा सानसँग बाँच्न सक्ने परिचय दिएर गएका छन् ।

अहिलेको ‘बचकाना राजनीति’ या अरूलाई खुइल्याउने नीतिलाई त भन्नु केही छैन । तर, पृथ्वीनारायण शाहले गरेको एकीकरण त्यो युगका दृष्टिमा भन्दा युगान्तकारी कार्य हो । उनका ठाउँमा रामबहादुर या श्यामबहादुर जो जे भए पनि त्यही गर्दथ्यो जो उनले देश, काल र परिस्थिति विचारेर गरेका थिए ।रसियामा लामो समयदेखि बसोबास गर्दै आएका वातावरण इन्जिनियर तथा विश्लेषक डा.जुगल भुर्तेल पृथ्वीनारायण शाहप्रति यसरी सन्तुलित रहेर भावपूर्ण श्रद्धा प्रकट गर्छन् –‘वर्षौं परदेशमा रहँदा हेपिएको, पेलिएको, संघर्षमा आँसु चुहाएको बेला फर्केर जाने ठाउँ छ भन्ने अनुभूतिले त्राण दिन्थ्यो । कोरोनाको कहरमा त्राहिमाम् हुँदै स्नेहको न्यानोको खोजीमा घर फर्किएका मानिसको लर्कोले पनि हामीलाई ‘देश चाहिन्छ है’ भन्ने सन्देश दिएको थियो । पृथ्वीनारायणले हामीलाई त्यो देश दिएका छन् । हामी यसको संरक्षण गर्ने प्रयास गरौं –देश भित्रका कुनै नेपालीले हेपिनु, पेलिनु र अन्यायमा आँसु चुाउनु नपरोस् ! हाम्रो एकताको सूत्र यही मात्र हो ।’

राजनीतिक विश्लेषक तथा लेखक सरिता गिरी भन्छिन् –‘पुस २७ आउँछ र मान्छेहरूको ‘हैसियत’ चिन्न पाइन्छ ।’ उनलाई यति सानो उनको भनाइमा पनि प्रश्न गर्ने नागरिकहरू नभएका चाहिँ होइनन् ।नागरिकहरू भन्छन् –‘राजाको नाम लिनेको हैसियत र यी सधैँका लुटेराहरूले लुटिराख्ने अहिलेको यो तन्त्रको नाम लिँदाको हैसियत के बन्ने होला ?’ जनताको चेतनाको पारो यति माथि पुगेको छ कि कसैले कसैलाई जवाफ दिइरहनु नै पर्दैन ।

फरक के हो भने अहिलेका लुटेराहरूसँगको नागरिकहरूको लडाइँ त छँदै छ । नागरिकहरूले दुवै खाले अतिवाद विरुद्ध लडाइँ क्रमिक रूपले लडिरहनु पर्छ । यो चाहिँ साँचो हो ।

विश्लेषक विश्व सिग्देलले काँग्रेसका वर्तमान ‘एक्का ट्रायलहरू’ का भनाइ यसरी खिपेर राखेका रहेछन् । तिनीहरूलाई एकपटक हेरौं –‘राज्यको धर्म हुँदैन ।’ – काँगे्रस महामन्त्री विश्वप्रकाश शर्मा । ‘पृथ्वीनारायण शाहले देश एकीकरण गरेका होइनन् ।’ – गगन थापा र ‘पृथ्वी जयन्ती मनाउन सकिँदैन’ शेरबहादुर देउवा । यति भनिसकेपछि काँग्रेसको वर्तमान लाइन बुझ्न धेरै माथापच्ची गरिरहनु परोइन ! पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने परम्परालाई उखेलिदिने पहिलो गृहमन्त्री (२०६३ सालमा) नेपाली काँग्रेसकै नेता कृष्णप्रसाद सिटौला हुन् ।

राजनीतिक विश्लेषक तथा खरा लेखक भरत दाहाल लेख्छन् –‘नेपालको पुनः एकीकरण अभियानका योजनाकार तथा नेतृत्वकर्ता पृथ्वीनारायण शाह अमर रहनेछन् । उनको महान् सङ्कल्पले हामी नेपालीहरू एउटै समाज र एउटै परिवारका रूपमा रहने वातावरण पाएका छौं । अङ्ग्रेजहरूको आक्रमणकारी उद्देश्यलाई चकनाचुर पारेबापत साम्राज्यवादीहरूले उनको कर्म, योगदान र व्यक्तित्वलाई समाप्तै पार्न खेलेका घृणित खेलहरू धराशायी भएका छन् । बरू साम्राज्यवादी खेलका प्यादाका रूपमा भाडामा प्रयोग गरिएका अपराधीहरू विस्तारै सर्वनाशको चक्रव्यूहमा फँस्दै गएका छन् ।’

उनी अझअघि थप्छन् –‘पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको योगदानको सम्झना गर्नु भनेको देश विरोधी भाडाका टट्टुहरूको विनाशका दिशामा एक कदम अघि बढ्नु हो । जसरी तथ्यलाई मेटाउन सकिँदैन, त्यसैगरी नक्कली रूपमा स्थापित गर्न खोजिएका असत्यहरूलाई जोगाउन पनि सकिँदैन भन्ने यथार्थताको प्रमाण देशमा विकास भैरहेको पछिल्लो वातावरण हो । पृथ्वी जयन्तीको अवसरमा प्रजातन्त्र, जनवाद, संघीयताजस्ता पर्दाहरूमा लुकेर आएका देशद्रोही अपराधीहरूलाई नाङ्गेझार पार्न सम्पूर्ण शक्ति लगाऔं ।’

नयाँ पुस्तालाई अहिले यिनै दुई खाले अतिवादी चिन्तनले भ्रमित पारिरहेको अवस्था छ । एकथरी भन्छन् –‘पृथ्वीनारायाण शाहले गल्ती मात्र नभएर अपराधै गरेका हुन् त्यसैले उनले गरेको गल्तीको सजाय उनका सन्तान दरसन्तानहरूले पनि अझै पाउनु पर्छ ।’ अर्काथरी भन्छन् –‘पृथ्वीनारायण शाहले त ठीक गरेका हुन् । उनले गरेको सुकार्यको सोह्रै आना जश उनका सन्ततीहरूले पाउनु पर्छ ।’ अब कसरी बुझ्ने विचरो नयाँ पुस्ताले ?

यहाँ त स्वट् एनालाइसिस् गरेर ऐतिहासिक पात्र, व्यक्तित्व र घटनाहरूका बारेमा तथ्यात्मक रूपले प्रकाश पारिदिने विद्वान् व्यक्तित्वहरू अहिले यतिखेर मुलुकमै नभएको आभाष हुँदैछ । कोही एमालेका विद्वान्, कोही काँग्रेसका थिङ्कट्याङ्क र कोही त माओवादीका भाष्यकार भएर देश झन्झन् रसातलमा पुगेको हो । हरेकका लोली फरक छन् । हरेकका बोली फरक छन् र हरेकका झोली फरक छन् । अनि नागरिकहरू समेत कहिले त कुहिरोको काग बनाइन्छन् ।

लोभानी पापानी नगरीकन मुद्दा मात्र हेरेर, कहिलेकाहीँ त आफूलाई पनि घाटा हुने गरी साहस बटुलेर बोलिदिने एउटा पनि मानिस देशमै छैनन् । कम्तिमा तेह्रतेह्रवटा विश्वविद्यालयहरू छन् । त्यहाँ हजारौं प्रोफेसर र डाक्टरहरू छन् तिनीहरूले त बोल्न सक्छन् नि । कुन कुरा देश हितमा छ कुन कुरा देश हितमा छैन ?

अहिले पृथ्वीनारायण शाहलाई गाली गर्नेहरूको ठूटे विज्ञता देख्दा यो देशका पिता, पुर्खा र अग्रजहरूले गरेका सबै प्रकारका योगदानहरू माटो मुनि पुगेको भान हुन्छ ।इतिहास भैसकेका धरोहरहरूलाई धारे हात लगाएर लगातार गाली गरिरहनु भन्दा महाकाली पर्तिरको लिपुलेक र लिम्पिया धुरालाई हेरेर कल्पना गर । राष्ट्रको एकीकरण गर्नु भनेको अहिलेका नेताहरूले उट्पट्याङ्ग गफ दिएजस्तो पक्कै सजिलो विषय त होइन नि ?

के कुरा चाहिँ साँचो हो भने जसरी बाउलाई सम्मान गर्नुपर्छ भनेर छोराले जन्मजात रूपमा जानिरहेको हुन्छ त्यसैगरी विगत पनि वर्तमानको बाउ हो । वर्तमानले गौरवपूर्ण सानमा बाँच्नका लागि विगतलाई सम्मान गर्नै पर्छ । इतिहासमा यस्ता बहस र मीमांशाका लामालामा चर्चा गर्ने सन्दर्भ धेरै आउँछन् किनकि एक माघले कहिल्यै पनि जाडो जाँदैन । यो कुरा समाजका हरेक तह र तप्कामा रहेका चेतनशील मानिसहरूलाई थाहा भएकै हुनुपर्छ । सबैमा चेतना भया !