Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


बेलायतमा किराँत राईहरुको सम्मेलन हुने, सिक्किमबाट पवन चाम्लिङ जाने


0
Shares

काठमाडौं । किराँत राईहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन बेलायतमा गर्ने भएका छन् । आगामी मे महिनाको २४, २५ र २६ तारिखमा हुने उक्त अन्तर्रास्ट्रिय सम्मेलनमा भारतीय राज्य सिक्किमका पूर्व मूख्यमन्त्री पवन चाम्लिङ प्रमुख अतिथि रहने शनिबार लण्डनको साउथ ह्यारोमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

किराँत राइ यायोख्या बेलायत शाखाद्वारा आयोजित उक्त पत्रकार सम्मेलनमा अध्यक्ष कल्पना रार्इले मे २४ गते अल्डरसटस्थित एम्पाएर हलमा सम्मेलनको उद्घाटन र त्यसपछि बन्दसत्र लगायतका मे २४ र २५ का कार्यक्रमहरु ह्यारो बरो फुटबल क्लबमा हुने जानकारी दिइन ।

सम्मेलनले विश्वभरका किराँत राईहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्दै सबैलाई एकताको सूत्रमा समेट्न भएकाले उपलब्धिमुलक हुने विश्वास गरिएको छ । अध्यक्ष राईले किराँत राई समूदायमा २८ वटा भाषाहरु प्रयोगमा रहेको तर केही किराँत राई भाषाहरु लोपोन्मुख रहेको चिन्तनीय अवस्थामा लोप हुनबाट बचाउन र प्रकृतिपूजक राईहरुको बिभिन्न चाडहरुको संरक्षण र सम्वर्द्धन गर्दै आफ्नो विशिष्ट संस्कार र संस्कृतिलाई अक्षुण राख्न, साथै भौगोलिक र पेशागत रुपमा भूमण्डलिकृत राईहरुलाई आफ्नो मुल थातथलोसंगको सम्बन्ध स्थापित गरिराख्न यस सम्मेलनले महत्वपूर्ण टेवा पुर्‍याउने बताइन ।

सम्मेलनमा बेलायतस्थित नेपाली राजदुत, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय काउन्सिलरहरु, अन्य जनप्रतिनिधिहरु, ब्यापारी, समाजसेवी र सर्वसाधारणहरुको उपस्थिति रहने जानकारी दिइएको छ । हरेक बर्ष मे महिनामा किराँत राईहरुले मनाउने साकेला (उभौंली) को अवसर पारेर तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

अध्यक्ष राईले बेलायतवासी किराँती र गैर–किराँतीहरु सबैबाट आर्थिक, नैतिक भौतिक लगायत सबै प्रकारका सहयोगहरु अपेक्षा राखिन् । त्यस्तै किराया यूकेका उपाध्यक्ष मेजर योगेश राईले साकेला (उभौंली) चाडको महत्वमाथि प्रकाश पार्दै यस पटकको साकेला र तेस्रो अन्तरर्राष्ट्रिय सम्मेलनमा आर्थिक भौतिक सहयोगका लागि बिज्ञापन र स्टलहरुको संख्यामा बढोत्तरी गर्ने कुरा बताए । साथै सो अबसरमा नेपालबाट केही लोकप्रिय कलाकारहरु समेत बोलाउने योजना रहेको पनि जानकारी गराइएको छ ।

सस्थाका यूके सल्लाहकार तथा पूर्व उपाध्यक्ष दिवाकर राई, किराया नेपालका संस्थापक सदस्य भुतपुर्ब मेजर मानबहादुर राई, सस्थाकै नेपालका पूर्व अध्यक्ष डा. सुमाया राई र पूर्व उपाध्यक्ष ज्ञानबहादुर राई लगायत कार्यसमितिका सदस्यहरु र  यूके शाखाका प्रतिनिधिहरुको पत्रकार सम्मेलनमा  उपस्थिति रहेको थियो ।

किरात राई यायोक्खा बेलायतका कार्यवहाक महासचिव नरेश काङमाङ राईले सम्मेलनमा करिब ३० लाख रुपैयां खर्च हुने जानकारी दिंदै आर्थिक श्रोत जुटाउन यही २२ फेब्रुअरीमा लन्डनको हयारो बरो फुटबल क्लवमा रात्रीभोजसहित एक सांस्कृतिक कार्यक्रम गरिने बताए । बेलायतमा रहेका १४ वटा प्रारम्भिक कमिटी र १७ देशमा रहेका शाखाबाट आर्थिक सहयोग मागिने पनि राईले स्पस्ट पारे ।

अन्तर्राष्ट्रिय सम्मेलन व्यवस्थापन जिम्मा लिएको किरात राई यायोक्खा बेलायतले कार्यक्रममा नैतिक, भौतिक तथा आर्थिक सहयोग गरिदिन पनि बेलायात्स्तित सबै संघ सस्था र सम्पूर्ण नेपाली समूदायसंग अपिल गरेको छ ।

किराँत राईहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् २०११ मा नेपाल र दोश्रो सन् २०१५ मा भारतको सिलिगुडीमा गरिएको थियो । बेलायतमा हुन लागेको तेस्रो सम्मेलनमा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, हङकङ, कतार, मलेसिया, जापान, कोरिया गरि १७ देशबाट करिब एकसयजना प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।