अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, माघ २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार पनि संसद बैठक अवरुद्ध गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पूर्वाग्रह राखेर आफ्नो पार्टीका नेता विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरेको भन्दै कांग्रेसले लगातार तेस्रो दिन पनि बैठक अवरुद्ध गरेको हो ।
प्रतिपक्ष दलले लगातार अवरुद्ध गरेपनि संसदको अवरोध कसरी अन्त्य गर्ने भन्ने विषयमा सत्ता र प्रतिपक्ष दुवै स्पष्ट छैनन् ।
सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।
तर, बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको विषय अदालतमा पुुगिसकेकाले सदनमा छलफल हुन नसक्ने भन्दै सभामुख सापकोटाले प्रतिपक्ष दलका सांसदलाई बोल्न समय दिएनन् ।
सभामुखले बोल्न समय नदिएपनि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले ‘बालुवाटार जग्गा प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइयो ?’ भन्दै आपत्ति जनाए ।
कांग्रेस सांसदले अवरोध जारी राखेपछि सभामुख सापकोटाले माघ २८ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।
कांग्रेसले लगातार सदन अवरुद्ध गरिरहे पनि संवैधानिक तथा कानुनीरुपले संसद अवरोध हट्ने अवस्था छैन । किनकि, संवैधानिक निकायले निर्णय गरेर अदालतमा पुगिसकेको विषयमा न त सदनमा छलफल गर्न सकिन्छ न त सदनले ‘रुलिङ’ नै गर्नसक्छ ।
राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले संवैधानिक तथा कानुनीरुपमा सदन अवरोधको अन्त्य हुन नसक्ने भन्दै आन्तरिक सहमति गरेर समस्याको समाधान खोज्नुपर्ने बताए ।
यता, सत्तारुढ दल नेकपाले भने कांग्रेसका मागबारे सरकार अनभिज्ञ रहेको भन्दै सरकारसमक्ष माग राखे सम्बोधनको लागि तयार रहेको जनाएको छ ।
कांग्रेसले राखेको मागलाई संवैधानिक र कानुनीरुपले सदनले सम्बोधन गर्नसक्ने अवस्था नरहेकाले सत्ता र प्रतिपक्षको आपसी सहमतिमा मात्र सदनको अवरोध हट्ने अवस्था रहेको छ ।









प्रतिक्रिया दिनुहोस्