नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा « Image Khabar


नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा


14.118k
Shares

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित सिंहदरबार वैद्यखाना, नेपाल औषधि लिमिटेड धरमरमा रहेका बेला यही प्रकृतिको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी भने पछिल्लो समय नाफामा जान थालेको छ ।

चार दशकअघि जन्मिएको यो संस्था धेरै वर्ष घाटा खाएर बल्लतल्ल बौरिएको हो । कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।

नेपालमा पाइने जडिबुटीे प्रयोग गरेर हर्वल सामान बनाउने यो कम्पनी लामो समय घाटामा गयो । कम्पनी चलाउन जमिन नै बेच्न बाध्य संस्था हाल करोडौं नाफा कमाउन सफल भएको छ । उचित व्यवस्थापन गर्न सके सरकारी संस्था सुधार्न सकिन्छ भन्ने उदाहरण यो कम्पनी बनेको छ ।

यहाँ उत्पादित सन्चो नेपाली ग्राहकमाझ अत्यन्त लोकप्रिय छ । हाल यसले जडिबुटी मसाज तेल, सेनिटाइजर, सन्चो, बामको उत्पादन बढाउँदै वार्षिक २२ करोड कारोबार गरेको छ । ज्ञानेन्द्र कार्कीलाई सरकारले प्रबन्ध निर्देशक बनाएर पठाएको तीन वर्षपछि कम्पनी आईपीओ निष्कासन गर्ने सम्मको अवस्थामा पुगेको छ ।

लामो समय घाटामा गएको संस्था कसरी प्रगति गर्न सफल भयो त ? प्रबन्ध निर्देशक कार्की सरकारसँगको समन्वय र कर्मचारीहरूको तदारुकताले कम्पनी नाफमा गएको बताउनुहुन्छ । आफूहरू पछिल्लो तीन वर्षदेखि नाफामा रहेको उहाँको भनाइ छ ।

सरकारकै स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र वैद्यखानाको घाटामा गइरहेको समयमा जडिबुटी कम्पनीको फड्को आफैँमा उत्प्रेरक बनेको छ । नेपाल औषधि लिमिटेडले सिटामोल, जीवनजलको उत्पादन गरिरहे पनि वैद्यखानाको अवस्था थप नाजुक बनेको छ ।

कुनै पनि संस्थाको नेतृत्वले योजना बनाएर लगानी ल्याउन सक्नुपर्ने प्रबन्ध निर्देशक अधिकारीको अनुभव छ । अर्थ मन्त्रालयमा तलबको लागि बजेट माग्न जानु भन्दा पनि निश्चित योजना बनाएर लगानीको लागि नेतृत्वको पहल गर्नुपर्नेमा उहाँ बताउनुहुन्छ ।

आगामी तीन वर्षभित्र वार्षिक १ अर्ब आम्दानी गर्ने लक्ष्य लिएको जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीले कर्मचारी थप, सातै प्रदेशमा प्रसोधन केन्द्र स्थापना र १० हजारलाई रोजगारी दिने लक्ष्य लिएको छ । जडिबुटीजन्य सामान उत्पादन बढाउने उसको योजना छ ।

३८ वर्षदेखि साधारणसभा समेत गर्न नसकेको संस्था लगातार नाफामा गएर नागरिकको समेत लगानी बढाउन तयारी गर्नु आफैंमा ठूलो उपलब्धि हो । सरकारी स्वामित्वका अन्य दुई संस्थाले पनि यसको व्यवस्थापकीय शैलीलाई पछ्याउनु जरुरी छ ।