Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संसदीय समितिहरुको पहिलो बैठक बस्यो


0
Shares

काठमाडौं, साउन २१ । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतका विषयगत १० ओटा समितिका पहिलो बैठक सोमबार बसेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समिति, विकास समिति, अर्थ समिति, शिक्षा तथा स्वास्थ्य समिति र राज्यव्यवस्था समितिलगायत १० ओटै समितिका बैठक बसेको हो ।

समितिहरुको पहिलो बैठकको अध्यक्षता समितिमा रहेकामध्ये ज्येष्ठ सांसदले गरेका थिए ।

प्रतिनिधिसभा गठन भएको पाँच महिनापछि पहिलोपटक समितिहरुको बैठक बसेको हो ।

पहिलो बैठक बसेका समितिहरुको बैठकमा सदस्यहरुबीच परिचय र समितिको कार्यविधिकाबारेमा सामान्य छलफल गरिएको थियो ।

समितिका सभापतिको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले समितिको अध्यक्षता गर्ने संसद नियमावलीमा व्यवस्था गरिएको छ ।

समितिका सभापतिको निर्वाचनको मिति समितिको परामर्शमा सभामुखले तोक्ने व्यवस्था गरिएको छ ।

सरकारलाई प्रतिनिधिसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए/गरेका काम–कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन संविधानको धारा ९७ बमोजिम विषयगत समितिहरु गठन गरिएको हो ।