गृष्मा राजभण्डारी र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ २४ । बालबालिकाको संरक्षणको नाममा खुलेका अधिकांश बालगृहहरु न्यूनत मापदण्ड र कानुनी मान्यताबिना सञ्चालित छन् ।
त्यस्ता बालगृहहरुमा चर्को श्रमशोषण र ज्यादती सहन नसकेपछि बालबालिकाहरु भाग्न बाध्य हुन्छन् ।
ललितपुरको भैंसेपाटीस्थित एक टहरामा खोलिएको रिहाबिलेसन फाउन्डेसन नेपाल बालबालिकाको श्रमशोषण गर्ने पछिल्लो बालगृह बनेको छ ।
गैरकानुनीरुपमा सन्चालित यो बालगृहका सातजना बालबालिका श्रमशोषण सहन नसकेपछि सञ्चालक नभएको समयमा झिटीगुन्टा बोकेर हिँडेका छन् । उनीहरु भैंसेपाटी आइपुगेपछि नेपाल प्रहरीको आँखामा परेका छन् ।
बालगृहमा ज्यादती सहन नसकेपछि भाग्नुपरेको बयान प्रहरीसमक्ष ११ वर्षीया लक्ष्मीले दिइन् ।
सुन्दा आङ नै सिरिङ हुने यो घटनामा जोडिएका बालबालिकाहरुलाई क्रिश्चियन धर्मका अनुयायीले नेपालका दुर्गम जिल्लाबाट काठमाडौं ल्याएका थिए ।
उनीहरुलाई विगत १० महिनादेखि यो बालगृहको टहरामा राखिएको थियो । सानो कोठामा उनीहरु सुत्थे, सामानहरु असरल्ल छरिएका थिए ।
प्रहरीले बालगृहका सञ्चालिका कमला खातीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकी खातीले बालबालिकालाई अन्याय नगरेको दाबी गरिन् ।
प्रहरीले ती बालबालिकाहरुलाई नेपाल बालकल्याण परिषद् र बालबालिका खोजतलास केन्द्रको समन्वयमा सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिएको छ ।
राष्ट्रिय बाल अधिकार परिषद्ले गैरकानुनीरुपमा सञ्चालित बालगृहहरुको अनुगमन जारी रहेको जनाएको छ ।
परिषद्की कार्यक्रम व्यवस्थापक नमूना भुसालले त्यस्ता बालगृहका सञ्चालकहरुलाई कारबाही गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।
देशका ४६ ओटा जिल्लामा ५३३ ओटा बालगृह रहेका छन् । त्यसमध्ये १७९ ले मात्र अनुमति लिएका छन् ।
प्रदेश नम्बर–१ मा २४ ओटा, प्रदेश नम्बर–२ मा १२, प्रदेश–३ मा ४०१, प्रदेश–४ मा ५२, प्रदेश–५ मा १९, प्रदेश–६ मा १३ र प्रदेश नम्बर–७ मा १२ ओटा बालगृह रहेकामा अधिकांश गैरकानुनीरुपमा सञ्चालित छन् । बालगृहहरुमा १४ हजार ८६४ बालबालिका आश्रित छन् ।
गैरकानुनीरुपमा बालगृहहरु सञ्चालन हुँदासमेत सरकारले तिनलाई छुट दिँदा बालबालिका संरक्षणको नाममा चर्को शोषणमा पर्दै आएका छन् । यति नाजुक अवस्था हुँदासमेत सरकारी निकाय निरीह देखिनु लाजमर्दो स्थिति हो ।









प्रतिक्रिया दिनुहोस्