दुना टपरीले स्वरोजगार बने महिलाहरु « Image Khabar


दुना टपरीले स्वरोजगार बने महिलाहरु


104
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका– ३ का महिला पछिल्लो समय उद्यमी बन्न थालेका छन् । वडा कार्यालयबाट दुना टपरी सम्बन्धि तालिम लिएका उनीहरुले वडाबाट दुना टपरी बनाउने मेशिनसमेत पाएपछि घरमै आर्य आर्जन गर्न लागेका हुन् ।

करिब ५ वर्षे कार्यकालमा स्थानीय सरकारले ५० प्रतिशत नागरिकलाई तालिम दिइसकेको छ । तालिम दिएपनि यसको उपलब्धी शुन्य झैँ देखिन्छ । तर, कैलालीको धनगढी उपमहानगरपालिका–३ ले यहाँका महिलालाई दुना टपरी सम्बन्धि तालिमसंगै मेशिनसमेत उपलब्ध गराएपछि उनीहरु समुहगत रुपमा काममा लागिपरेका छन् । यो कामले धेरै आम्दानी नभए पनि उनीहरुलाई उद्यमी बन्न प्रेरित गरेको छ ।

तालिम लिएका महिलाले घरमै दुना टपरी बनाउने मेशिनसमेत पाएपछि उनीहरु घरको दैनिक काम सकेर दुना टपरी बनाउने काम गर्ने गरेका छन् । नजिकैको जंगलबाट पातहरु संकलन गरी दुना टपरी बनाउने गरेका उनीहरुलाई बजारको भने अभाव छ । प्लास्टिकका सामानभन्दा पातबाट निर्मित दुना टपरीको उपयोग सबैले गरे सहज हुने उनीहरुको अपेक्षा छ ।

धनगढी उप महानगरपालिका–३ को वडा कार्यालयले ११ दिनसम्म वडाका महिलालाई दुना टपरी सम्बन्धि तालिम दिएको थियो । महिलालाई उद्यमी बनाउनका साथै प्लास्टिक मुक्त गाउँ बनाउने अभियानका साथ वडाले दुना टपरी तालिमसँगै मेशिन पनि उपलब्ध गराएको हो । अभियान अनुरुप यहाँका महिला उद्यमी बनिरहेको बताउँदै वडा अध्यक्ष बल बहादूर ऐरले फेरि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

स्थानीय तहले तालिम दिने तर तालिम लिनेहरुको तथ्याकंसमेत नराख्ने परिपाटीले सरकारको लगानी खेर गइरहेको छ । वडाले गरेको यो काम जस्तै तालिम दिएर उद्यमी बनाउँदै आर्थिक उपार्जनसंग महिलाहरुलाई जोड्न सके सोचेजस्तै समुन्नत समाजको निर्माण हुन सक्छ ।