
काठमाडौं । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदै हुनुहुन्छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताउनुभयो ।
यसैबीच, समन्वय समितिका संयोजक पौडेलले हिजो साँझ बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्ताका विषयमा पनि बैठकमा छलफल भएको छ । पौडेलले ओलीलाई भेटेर एमालेले जारी राखेको संसद् अवरोध खुलाउन आग्रह गर्नुभएको थियो ।
आजको बैठकमा पौडेलसहित प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्