Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


संसद बैठक अवरुद्ध, विधिको शासनको सट्टा व्यक्तिको पछि लाग्दा सदनमा कांग्रेस एक्लो


0
Shares

सरोज अधिकारी र दिलिप पोखरेल (इमेज)

काठमाडौं, माघ २४ । पार्टी उपसभापति विजयकुमार गच्छादारविरुद्ध भ्रष्टाचार मुद्दा लागेका विरुद्धमा शुक्रबार पनि नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ ।

आफ्नो पार्टीका सांसदभन्दा सरकार र अख्तियारको रवैयाविरुद्ध आवाज उठाएको भनिरहेको कांग्रेसले यस विषयमा संसदभित्र वा बाहिर साथ पाउने हो वा होइन, त्यो भने हेर्न बाँकी नै छ ।

संसद बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रस्ताव ‘माइन्युट’ गर्ने र निर्णयको नेतृत्व गर्नेलाई छुट दिएर अन्यलाई मात्र मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह भएको भन्दै आपत्ति जनाए ।

उनले अख्तियारले आफैं अख्तियारको दुरुपयोग गरेको भन्दै यसको विरोधमा संसद चल्न नदिने बताए ।

सभामुख अग्नि सापकोटाले कांग्रेस सांसदहरुलाई करिब २० मिनेटसम्म पटक–पटक बस्न आग्रह गरे ।

उनले अदालतमा गएको यो विषय संसदको क्षेत्राधिकारविपरीत रहेको भन्दै संसद चल्न दिन आग्रह गरे ।

सभामुखको आग्रहलाई बेवास्ता गर्दै कांग्रेस सांसदहरु उभिरहेपछि शुक्रबार नै आधा घन्टाका लागि स्थगित बैठक पछि बस्दै नबसी २६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित भएको छ ।

यो घटनामा कांग्रेसले आफ्ना उपसभापतिविरुद्ध लागेको भ्रष्टाचारको आरोपलाई लिएर सदन अवरुद्ध गर्नु भ्रष्टाचारीलाई समर्थन गर्नु हो भन्ने आरोप सामाजिक सञ्जालमा लागिरहेको छ ।

यदि, एउटै मुद्दामा फरक–फरक मापदण्ड अपनाइएको कांग्रेसलाई लागेको हो भने उसले यस विषयमा संसदभित्र र बाहिर समर्थन पनि खोज्नुपर्ने हुन्छ ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादव कांग्रेसले यसबारे छलफल नै नगरेकाले सहयोग गर्ने कि विरोध भन्ने टुंगोमा नपुगिएको बताउँछन् ।

भ्रष्टाचारका धेरै काण्डहरु छन् । हाम्रा दलहरु सबै कुनै न कुनै बेला सत्तामा रहेका छन् । यसकारण भ्रष्टाचारमा छानबिन गर्दा कहिले सत्ताका त कहिले विपक्षका नेताहरु नै पर्छन् ।

त्यसैले सत्ता र प्रतिपक्षको हैसियत बिर्सी दलहरुले पारदर्शीरुपमा छानबिन गर्न दिएर जो परेपनि गलत भएको देखिए कारबाही गर्नसकेमात्र भविश्यका सरकार तथा सरकार सञ्चालन भ्रष्टाचारमुक्त हुनसक्छ ।

भिडियो हेर्नुहोस्