
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीसँग पनि होस्टेल शुल्कका नाममा करिब १७ लाख उठाइरहेका छन् । प्रत्येक विद्यार्थी कलेजकै होस्टेलमा अनिवार्य बस्नुपर्ने भन्दै मासिक २५ हजारका दरले उठाउन खोजिएको छ ।
दुवै कलेजले नियमित विद्यार्थीबाट होस्टेलबाहेक पनि अतिरिक्त दुई लाख ३२ हजार पाँच सय ७९ रुपैयाँ उठाइरहेका छन् । रजिस्ट्रेसन, परीक्षा शुल्क, एफिलेसनबापत यो रकम लिन लागिएकोे हो । तर, चिकित्सा शिक्षा आयोगले यो रकम कुल शुल्क ४० लाख २३ हजारभित्रै पर्ने बताएको छ । एमबिबिएस अध्ययन सक्दा पाँच वर्षमा प्रत्येक विद्यार्थीबाट होस्टेल र अतिरिक्त शुल्कसमेत गर्दा २० लाख बढी उठाउन खोजिएको छ ।
चिकित्सा शिक्षा आयोगले कलेजकै होस्टेलमा बस्नुपर्ने अनिवार्य नभएको स्पष्ट पारेको छ । तर, केएमसीले होस्टेल अनिवार्य गरी मासिक २५ हजार शुल्क मागेको विद्यार्थीले बताएका छन् । आयोगले केही दिनअघि सार्वजनिक सूचना जारी गरी ‘शिक्षण संस्थाको होस्टेल, मेसजस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने’ उल्लेख गरेको छ । तर, कलेजले भने अनिवार्य गरेर छात्रवृत्ति तथा पूर्ण शुल्कमा अध्ययन गर्ने विद्यार्थीलाई समस्यामा पारेको छ ।
नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन केन्द्रीय कमिटीका इन्चार्ज डा. सुजन कडरियाले केएमसी र नोबेल मेडिकल कलेजमा अध्ययन गर्न निकै अप्ठ्यारो बनेको बताए । दुवै कलेजले प्रतिविद्यार्थी २५ हजार होस्टेल शुल्क तोकेर एउटा कोठामा दुईजना राखेका छन् । ‘अरू निजी मेडिकल कलेजले बढीमा मासिक १०–१२ हजार होस्टेल शुल्क लिने गरेका छन्, तर यी कलेजले विद्यार्थीलाई अनिवार्य होस्टेलमा बस्न बाध्य गराएर ढाड सेक्ने गरी शुल्क लिन खोजेका छन्,’ उनले भने, ‘पहिले बाहिरभन्दा कलेजको होस्टेल सस्तो र राम्रो हुने भएकाले विद्यार्थीको आकर्षण थियो, अहिले कलेजहरूले होस्टेललाई ठगी गर्ने माध्यम बनाएका छन् ।’
प्रतिक्रिया दिनुहोस्