
चितवन, साउन २१ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–२५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ ।
स्थानीय राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए ।
उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एकजनालाई उपचारका लागि अस्पताल लगिएको र एकजनाले भने भागेर ज्यान जोगाएका थिए ।
पाठककाअनुसार घटनास्थलनजिक शरीरका विभिन्न अंग फेलापरे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन ।
बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो घटना हो ।
अघिल्लो वर्ष बाघको आक्रमणबाट तीनजनाको मृत्यु भएको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्