
काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ । सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो बनेको हो ।
स्थानीय तहमा सूचना प्रविधि पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्थालगायत सात विषय समेटिएको ‘स्थानीय तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा’ मूल्यांकनमा पश्चिम रुकुम, अछाम, सल्यान, धादिङ, सिराहालगायतका स्थानीय तह उत्कृष्ट १५ मा परेका छन् । उत्कृष्ट १५ मा आठ नगरपालिका, तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका छन् ।
सातवटा विषयलाई १०० पूर्णांकमा समेट्दा स्याङ्जाको वालिङ नगरपालिका ७८ अंकसहित दोस्रो बनेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका ७८ अंकसहित तेस्रो, चितवनको खैरहनी नगरपालिका ७६ अंकसहित चौथो, चितवनकै भरतपुर महानगरपालिका ६१ अंकका साथ ५८औँ नम्बरमा छ ।
‘सुगमभन्दा दुर्गमका पालिका उत्कृट रहेको विवरणले देखाएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुशीला अर्यालले भनिन्, ‘यो पाइलटिङ मूल्यांकन हो, उहाँहरूले नै उपलब्ध गराउनुभएको विवरणका आधारमा नतिजा आएको हो । उपलब्ध रहेका भनिएका सेवाबारे थप क्रसचेक गर्छौँ, अर्कोपटक बृहत् रूपमा अध्ययन गरिनेछ ।’
प्रतिक्रिया दिनुहोस्