
काठमाडौं । स्थानीय ठेकेदार इन्द्रजित राउतले भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा बँधुवा मजदुर बनाएका सर्लाही चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका तीन युवा मृत अवस्थामा फर्काइएपछि पीडित परिवार न्याय माग्दै दुई महिनादेखि सरकारी अड्डा धाइरहेका छन् । राउतले दिएको यातना र अखाद्य पदार्थका कारण बिरामी परेर जीवनमरणको दोसाँधमा फर्काइएका सात युवाका परिवार पनि उनीहरूसँगै न्यायको खोजीमा छन् । र, सँगसँगै आफ्ना मान्छेको उद्धार गरिदिन गुहार माग्दै छन् अझै भारतमै बन्धक बनाइएका २२ युवाका परिवार ।
तर, अन्यायले आहत भएर राहत खोज्न पटकपटक प्रशासन र प्रहरीको दैलो टेकेका उनीहरू हरेकपटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखको हप्की खाँदै र दुर्वचन सहँदै घर फर्किन बाध्य छन् । घटना भारतमा भएकाले नेपालको प्रशासन र प्रहरीले केही गर्न नसक्ने गैरजिम्मेवार जवाफ मात्रै होइन, ठेकेदारसँग राजीखुसीले नै काम गर्न गएकाले अहिले उसैलाई कारबाहीको माग गर्नु बेतुक भएको भन्दै पीडितलाई कमजोर बनाउन भूमिका खेलेका छन् । सिडिओले अहिलेसम्म निवेदन बुझ्न मानेका छैनन् भने प्रहरीले उजुरी स्विकारेको छैन ।
चिस्यान केन्द्रमा मृत्यु भएका ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलको शव ९ कात्तिकमा र कामत गाउँका नन्दलाल र जगदीशको शव १० कात्तिकमा घरमा ल्याइएको थियो । शवसँगै बिरामी हालतमा फर्काइएकाहरूले ठेकेदारका मान्छेले अखाद्य पदार्थ खुवाएर पशुवत् रूपमा काममा लगाउँदा मृत्यु भएको बताएपछि पीडित परिवारले तत्काल छानबिनको माग गरेका थिए । तर, प्रहरीले शव पोस्टमार्टम गर्नसमेत अस्वीकार गर्दै सद्गद्का लागि दबाब दिएर त्यतिवेलै घटना सामसुम पार्न खोजेको मृतक जगदीशका बुबा महिन्द्र माझीले बताए ।
‘१० कात्तिकको बिहान ठेकेदारका मान्छेले आँगनमा ल्याएर छोराको लास लडाइदिए । घरमा सबै रुन–कराउन थाले । म बुढो मान्छे के गर्नु ? ठेकेदारले घरबाट लगेको छोरा हो, मलाई छोरा नै चाहिन्छ भनेर चिच्याएँ । म लास बुझ्दिनँ भनेर झगडा गरेँ । त्यसपछि उनीहरूले पुलिस बोलाए । त्यसपछि इलाका प्रहरी कार्यालय केशरगन्जका पुलिस हाकिम आएर लास बुझ्न र सद्गद् गर्न दबाब दिए,’ उनले त्यो दिन सम्झिँदै सुनाए ।
प्रतिक्रिया दिनुहोस्