म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित « Image Khabar


म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

टोटनह्याम र वेष्ट ह्याम पनि विजयी

52
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले हराएको छ ।

गएराति आर्सनलको मैदानमा भएको खेलको ३१ औं मिनेटमा बकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिए । ५७ औं मिनेटमा म्यान्चेस्टर सिटीका रियाद माहारेजले पेनाल्टीमार्फत बराबरी गोल गरे ।

५९ औं मिनेटमा आर्सनलका डिफेन्डर ग्याब्रियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो । इन्जुरी समयमा रोड्रिले म्यान सिटीका लागि निर्णायक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानमा रहेको चेल्सीसँग ११ अंकको अग्रता लिएको छ । २१ खेलबाट म्यान सिटीको ५३ अंक छ भने २० खेलबाट चेल्सीको ४२ अंक छ । समान ४२ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा रहेको छ । लिभरपुलले आज राती चेल्सीसँग खेल्नेछ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा हिजो टोटनह्याम हट्सपरले वाट्फोर्डलाई १–० ले हराउँदा वेष्ट ह्याम युनाइटेडले क्रिष्टल प्यालेसमाथि ३–२ को जित निकाल्यो । लेष्टर सिटी र नरिच सिटीको खेल भने कोभिडका कारण पोस्टपोन्ड गर्नुपर्‍यो ।