२६ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 9 2023


ठेकेदारको पासोमा विपन्न : ऋण सकिएन, जीवन सकियो


156
Shares

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका नन्दलाल माझीले घर खर्च र औषधि उपचारका लागि स्थानीय ठेकेदार इन्द्रजित राउतसँग चार वर्षअघि ५० हजार ऋण लिएका थिए ।

त्यही ऋण तिर्न भन्दै ठेकेदारले मजदुरीका लागि उनलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्र पुर्‍याए, बँधुवा मजदुर बनाएर काममा जोताए । तर, तीन वर्ष जोतिँदा पनि ऋण सकिएन, बरु नन्दलालको जीवन सिद्धियो । ठेकेदारले थकान नलाग्ने औषधि खानामा मिसाएर दिने गरेको थियो । जसका कारण उनी चौबिसै घन्टा काम गर्थे । त्यसकै कारण गत ८ कात्तिकमा ३९ वर्षकै उमेरमा नन्दलालको मृत्यु भयो ।

नन्दलालको मृत्युपछि तीन सन्तान, श्रीमती, बाबुआमा र बहिनी गरी सातजनाको परिवार बिचल्लीमा परेको छ । श्रीमान्को मृत्युपछि नाबालक सन्तानकी आमा सियान्ती देवी आफैँ सम्हालिन सकेकी छैनन् । एक मात्र छोराको अल्पायुमै मृत्युले आमा अहिलेसम्म अर्धचेत छिन् । परिवार धान्ने जिम्मा ५५ वर्षका बुबा गुनौर माझीको काँधमा आएको छ । आफ्ना पतिलाई ठेकेदारले मजदुरीका लागि बलजफ्ती भारत पुर्‍याएको पत्नी सियान्तीले बताइन् । श्रीमान् गत दसैँमा घर आउन खोज्दा पनि ठेकेदारले नदिएको उनको भनाइ छ । मृत्यु भएको अघिल्लो राति १० बजेतिर उनको श्रीमान्सँग फोनमा कुराकानी भएको थियो ।

तिहारमा आउन गरेको आग्रहमा उनले ठेकेदारले पैसा नदिएका कारण आउन नसकिने बताएका थिए । त्यसको भोलिपल्ट नै नन्दलालको मृत्युको खबर आयो । स्थानीय धनी माझीका अनुसार गाउँमा चन्दा संकलन गरेर नन्दलालको काजकिरिया गरियो । नन्दलाल घरको एक मात्र आधार थिए । ठेकेदारले दिने पाँच–दश हजार घरमा दिएर खर्च चलाउँदै आएका थिए । ‘दैनिक छाक टार्न नै धौ–धौ छ, यी लालाबालालाई लगाउने लुगाफाटा कहाँबाट जुटाउने, कसरी पढाउने रु’ पत्नी सियान्तीले भनिन् । माझी परिवारको सम्पत्तिको नाममा ऐलानी जग्गामा बनेको काठको घरबाहेक केही छैन ।

नयाँ पत्रिका